नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका रतन तिरूवा रहेको प्रहरीले जनाएको छ ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित नेकपा स्वर्गीय नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन सकेर आफ्नो सिटमा फर्किने क्रममा तिरूवाले प्रचण्डतर्फ जुत्ता प्रहार गरेका थिए ।
प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएपनि जुत्ता मंचसम्म पुग्न सकेको थिएन । त्यसपछि तत्कालै सुरक्षाकर्मीले तिरूवालाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका तिरूवालाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरबार लगेको छ । उनीमाथि थप अनुसन्धान भैरहेको छ ।
उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको तस्विर राखेका छन् । तत्कालीन जनयुद्धमा बुवा गुमाएका रतन तिरूवा नेपालगञ्जमा अमिन पढेर काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए ।