एक वर्षमा पनि भत्काएर सकिएन जयवागेश्वरी, भित्र तीनवटा गजुर फेला

भूकम्पले भत्किएको तीन वर्षपछि पुनःनिर्माण शुरु भएको जयवागेश्री मन्दिर जगदेखि नै बनाउन भत्काउने क्रममा ऐतिहासिक एवं पुरातात्कि महत्वले युक्त संरचना फेला पर्न थालेको छ । बाहिर एउटै गजुर देखिने मन्दिर भत्काउने क्रममा भित्र तीनवटा गजुर फेला परेको थियो । ती गजुर अध्ययनका लागि करिब तीन महिना लागेको थियो । त्यसको अध्ययन सकेर भत्काउने क्रममा पुराना भित्तेचित्र भेटिएपछि थप अध्ययनका लागि थप समय लाग्ने मन्दिर पुनःनिर्माण सहजीकरण समितिका अध्यक्ष एवं पूर्वपुजारी मृत्युञ्जय कर्माचार्यले जानकारी दिए।

पुरातात्विक महत्वका आकर्षक भित्तेचित्र भेटिएपछि पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायबाट गर्भ र जगको अध्ययन गर्नुपर्ने पत्र आएपछि काम रोकिएको उनले सुनाए । जीर्ण मन्दिर भत्काउन नै एक वर्ष समय लागेको छ ।



पालको भरमा मूर्ति छोपिँदा बेलाबेलामा हुने वर्षाका कारण जोगाउन मुस्किल भएको छ । जयवागेश्वरीको मूर्ति माटोबाट बनाई १२÷१२ वर्षमा कलेबर फेर्ने गरिन्छ । माटोबाट बनेको मूर्तिमा धेरै पानी परेपछि जोगाउन गाह्रो हुने भएकाले पनि छिटो काम हुनुपर्ने पुजारी समूहको माग छ । मूर्ति पानीले बिग्रिएमा १२ वर्ष नपुगी फेरि अर्को बनाउन नहुने मान्यता रहेको ४४ वर्ष पुजारी भइसकेका कर्मचार्यले बताए ।

स्थानीय तह र स्थानीयवासीसँग समन्वय नगरी काम गर्दा पनि सानासाना समस्या फुकाउन अप्ठ्यारो भएको छ । काठमाडौं महानगरपालिका–८ का अध्यक्ष दीनेशकुमार डङ्गोल कोषले जनप्रतिनिधि निकायसँग समन्वय नगरी काम गर्दा छिटो हुन नसकेको बताउछन्र ।

कोषले भने विभागले अध्ययन गरिरहेकाले सकिने बित्तिकै काममा तीव्रता आउने जनाएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सम्पदा पुनःनिर्माण समय लिएर पहिलेकै स्वरुपमा गरिने बताउछन्र । केही समय ढिलाइ भए पनि दिगो काम हुनुपर्ने उनको भनाइ छ ।

विसं २०७५ पुसमा कोषले मन्दिर पुनःनिर्माणका लागि कोषसँग सम्झौता गरेको थियो । माघमा क्षमा पूजा गरी गत वर्ष फागुनदेखि भत्काउन शुरु भएको थियो । एक वर्ष पूरा हुँदासमेत भत्काएरसमेत नसकिएको मन्दिर कहिले सकिने हो निश्चित छैन ।

सम्बन्धित समाचार