क्वारेन्टाइनमा रहेका चालकसहित १८ जनाको टोली घर फिर्ता

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी घर फर्किएको छ । नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५ औं दिनमा घर फर्काइएको हो ।

उनीहरुलाई नेपाल वायु सेवा निगमका कर्मचारीसमेत लिन आएका थिए । १८ जनालाई बिदाइ गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिए ।



यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४औं दिनमा शनिबार स्वाब नमूना सङ्कलन गरिएको थियो ।

यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको भने अझै रिपोर्ट आएको छैन । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरुको रिपोर्ट सोमबारसम्म आउनसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो ।

सम्बन्धित समाचार