अब लामाचौरमा पनि एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा

एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आफ्नो ५५ औं शाखारहित बैंकिङ्ग सेवा यही फागुन १८ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकिङ्ग सेवाको समुद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्त गरेको छ । ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।



यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी लिन तथा संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

आम जनताले बैंकलाई गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार