प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । चिकित्सकले बुधबार उनको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भैरहेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले आफू अस्पतालमा हुँदा सरकारका तर्फबाट दैनिक तथा अत्यावश्यक अवस्था गर्नुपर्ने कार्यका लागि संयन्त्र तयार रहेको बताएका थिए ।
डा. प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मिर्गौला प्रत्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । पहिलेको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
को हुन् ओलीलाई मृर्गौला दान गर्न लागेकी समीक्षा संग्रौला ?
ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लागेकी हुन् । केही समययता उनी प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आउजाउ गरिरहेकी थिइन् । गत आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान दिने महिलाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृगौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन् ।
चारआलीकी उनी ओलीलाई पहिलोपटक मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन् । शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । जसमा लेखिएको छ, ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) । भान्जीले–मामालाई ।’ रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर पनि लेखिएको छ । साथै, प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत राजेश बज्राचार्यको पनि नाम लेखिएको छ ।
समीक्षा र उनका पति प्रधानमन्त्री ओलीकहाँ आउजाउ गरिरहने पाइएको छ । उनीहरूले प्रधानमन्त्रीबाट दशैंमा टीका लगाउँदै आएकी छिन् । समीक्षाका दुई सन्तान रहेको बुझिएको छ । १३ वर्षयता अन्जान घिमिरेको मिर्गौलामार्फत देशको बागडोर संहाल्दै आएका ओलीले अब भने समीक्षाको मिर्गौलामार्फत देशको बागडोर संहाल्ने तयारीमा छन् ।
शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा
प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ । प्रधानमन्त्री ओलीसँग शिक्षण अस्पतालका चिकित्सकहरूको सोमबार साँझ बैठक पनि बसेको थियो । बैठकमा डाक्टरहरुले प्रत्यारोपण प्रक्रियाका बारेमा बिस्तृतमा छलफल गरेका थिए । ओलीको मृगौला प्रत्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ ।
भारतका प्रधानमन्त्री मोदीद्वारा शीघ्र स्वास्थ्य लाभको कामना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाको शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले सन्देश पठाउँदै मिर्गौला सफल प्रत्यारोपणको कामना गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मोदीको सन्देश नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए । यसैबीच मोदीले एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । ‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्– ‘भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुशी र दीर्घायुको आशीर्वाद दिऊन् ।’