तेस्रो लिङ्गी अजिता भुजेलको हत्या काण्डका आरोपी पाँचजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालसले सोमबार अजिताको हत्याका अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
हत्याका अभियुक्तहरु हेटौंडा उपमहानगरपालिका–९ का १८ वर्षीय भापु भन्ने सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय घनटाउके भन्ने सुशील थापा मगर, २४ वर्षीय आशीष बल, हेटौंडा–१४ का २१ वर्षीय ह्याक्चर भन्ने बुद्ध लामा र सोनम गोलेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको क्षेत्रीय कारागार भिमफेदी पठाइएको जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।
हत्या काण्डमा सहयोग पुर्याएको अभियोगमा पक्राउ परेकी हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन भन्ने डोरमाया तामाङलाई भने अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम तिर्न नसकेपछि उनलाई कारागार कार्यालय चितवन पठाइएकोछ । आजीवन कारावास माग जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरले तीन दिनअघि मुद्दा दायर गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४१ बमोजिम अभियुक्तहरुलाई आजीवन कारावासको माग गरेको थियो ।
हेटौंडा–११ की २९ वर्षीया भुजेलको हत्या भएको १७ दिनपछि पाँचजनालाई प्रहरीले माघ २१ मा सार्वजनिक गरेको थियो। फरार एकजनालाई केही दिनपछि पक्राउ गरेको थियो । हेटौंडा–११ थानाभर्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक सिमोन परियारले ल्याएको ट्रकमा मृतक अजितासँग हत्यामा संलग्न चारजनाले यौन सम्पर्क गर्ने सहमति गरेको प्रहरीले बताएको छ।
सहमतिअनुसार सात हजार रुपैयाँ चारजनाले नदिएपछि विवाद भएर चारैजना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । नेपाल प्रहरीको अपराध महाशाखा टेकु र मकवानपुर प्रहरीको संयुक्त टोलीले अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको थियो ।