प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज, के हुँदैछ तयारी ?

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार (आज) बिहान ९ बजेदेखि शुरु गर्ने तयारी अस्पतालले गरेको छ । ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक समेत नेपाल आएका छन् । भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना नेपाल आएको टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए ।

उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन् । ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ । प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् ।



ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा। अनन्तकुमारले नै गरेका थिए । प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछाडि पुनः प्रत्यारोपण गर्न लागिएको हो । सोमबार शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अहिले अब्जरवेशनमा राखिएको छ ।

उनलाई मिर्गौला दिनका लागि भान्जी समीक्षा संग्रौला ज्ञवाली समेत अस्पताल भर्ना भइसकेकी छिन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पुरा भएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले कात्तिकदेखि डाइलाइसिस गराउँदै आएका थिए । मंगलबार पनि उनको डाइलाइसिस भएको छ ।

सम्बन्धित समाचार