एनआईसी एशिया क्यापिटल लिमिटेड संचालनमा आएको तेश्रो वर्ष पूरा भएको अवसरमा क्यापिटलको सेवामा विशेष छुट योजना ल्याएको छ । संचालनमा आएको छोटो समयमा नै एनआईसी एशिया क्यापिटलले उल्लेखनीय सफलता हासिल गरेको छ ।
यस छोटो अवधिमा नैं बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रूपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छैन यस अवधिमा नै मर्चेण्ट बैंकरहरूमध्ये पहिलो आइएसओ 9001:2015 सर्टिफाइड क्यापिटल बन्न पनि सफल भएको छ । यस्तै यस अवधिमा क्यापिटल निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता खोल्न सफल भएको, लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरूलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको, शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजारभन्दा बढी शेयरधनीहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको तथा म्युचुअल फण्ड सेवाअन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरेको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ, जसअन्तर्गत फागुन २२ गतेदेखि मिति २०७७ आषाढ मसान्तसम्म निःशुल्क रूपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गर्नुको साथै मिति २०७६ साल फागुन २२ गतेदेखि मिति २०७६ साल चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।