फेसबुकका एक कर्मचारीलाई कोरोनाको संक्रमण, कार्यालय बन्द गरिने !

सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित कार्यालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही दिनका लागि कार्यालय बन्द हुने भएको छ ।

अमेरिकाको वासिंग्टन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ती कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएसँगै अन्य कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ।



हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये १० जना वासिंग्टन राज्यका र एकजना क्यालिफोर्नियाका रहेका छन् । अहिलेसम्म अमेरिकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै क्यालिफोर्नियामा ५७ जनामा संक्रमण देखिएको छ भने वासिंग्टन राज्यमा ४३ जनामा संक्रमण देखिएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या ३ हजार २ सय ८५ पुगेको छ । ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ । चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ । इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।

सम्बन्धित समाचार