समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घको प्रथम घोषणासभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुँजीको पहुँच साना र मध्यम व्यवसायीसम्म लगेमात्र देशको विकास हुने बताए ।
‘पुँजीवादको विकास नगरी समाजवाद आउँदैन, उत्पादनशील क्षेत्रमा लगानी गरेर समाजको विकास गर्नु जरुरी छ’, पूर्व प्रधानमन्त्री भट्टराइले भने । वर्तमान सरकार कछुवाको गतिमा अगाडि बढेको र आर्थिक क्षेत्रको विकासमा दुई वर्ष खेर फालेको उनले आरोप लगाए ।
पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्वको सम्भावनायुक्त देश भएकाले यहाँ भएका प्राकृतिक सम्पदाको सही सदुपयोग गरी देश विकास गर्नुपर्ने बताए। भ्रष्टचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणमा समाजवादी पार्टी लागेको उनको भनाइ थियो । पार्टी बौद्धिक पेशागत सङ्घका इन्चार्ज नगेन्द्र प्रधान, नेवाः परिषद्का इन्चार्ज पञ्चलाल महर्जनले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको उल्लेख गरे ।