पार्वती (नाम परिवर्तन) व्यावसायिक यौनकर्मी हुन्। यही कामले उनको घरपरिवार चलेको १० वर्ष भयो। यस बीचमा उनी काठमाडौंको सयभन्दा बढी ठाउँमा डेरा सरिसकिन्। ‘घरबेटीले यौनकर्मी भन्ने थाहा पाउनेबित्तिकै घरबाट निकालिदिन्छन्,’ उनले भनिन्, ‘समाजले हामीलाई हेर्ने दृष्टिकोण राम्रो हुँदैन। हामीलाई हेर्दै कानेखुशी गर्ने धेरै हुन्छन्। जता गए पनि हामीले ठक्करैठक्कर खानुपर्छ।’
स्वास्थ्य समस्या पर्दा उनी डाक्टरकहाँ जाँदिनन्। कुनै ग्राहकले ठगेर भाग्यो भने प्रहरीकहाँ उजुरी गर्नेबारे उनले कहिल्यै सोचेकी छैनन्। ‘हामी यौनकर्मी हो भन्ने थाहा पाउनेबित्तिकै जसले पनि हामीलाई गर्ने व्यवहार नै फरक हुन्छ,’ पार्वतीले भनिन्, ‘ग्राहकसँग जाने बेलामा मात्र हामी यौनकर्मी हौं। बाँकी समय हामी पनि कसैका दिदी, बहिनी र आमा हौं। तर, जसले पनि हामीलाई एकचोटि यौनकर्मी भनेर चिनेपछि सधैँभरि यौनकर्मीकै रूपमा चिन्छन्, त्यस्तै व्यवहार गर्छन्।’
आफूजस्ता महिलालाई सार्वजनिक स्थानमा बस्नै डरमर्दो भएको उनले सुनाइन्। ‘केही नगर्दा पनि चिया खाएको ठाउँबाट प्रहरीले समातेर लैजान्छ,’ पार्वतीले भनिन्, ‘सार्वजनिक बाटोमा हिँड्ने हाम्रो चाहिँ अधिकार छैन र रु हामी पनि यो देशका नागरिक हौं।’
पार्वतीकी साथी अनुजा (नाम परिवर्तन)लाई केही दिनअघि रत्नपार्कमा प्रहरीले समात्यो। ‘पुलिसले चौकी पुर्याउनुअघि नै नराम्ररी पिट्यो,’ उनले भनिन्, ‘मेरो जीउमा अझै पनि नीलडाम छन्। हामी त रत्नपार्कमा उभिएको देख्नै हुँदैन, समातिहाल्छ। केही गल्ती नगर्दा पनि पुलिस देखेपछि भाग्न बाध्य हुन्छौँ।’
प्रहरीले समातेर मात्रै आफ्नो समस्या समाधान नहुने उनले बताइन्। ‘वर्षौंदेखि गर्दै आएको पेशा हामी छाड्दैनौं,’ अनुजाले भनिन्, ‘हामीले कसरी सुरक्षित रूपमा यौन श्रम गर्ने भन्ने कुरा बुझिसक्यौं। बुझ्न नसकेको त कानुनको कुरा मात्र हो। कानुनले यौन श्रमिक महिलालाई कुटेर थला पार भन्छ हो ? नत्र हामीलाई दिउँसै सडकमा हिँड्न किन दिइँदैन ?’
अनुजालाई मानिसहरूले यौनकर्मी, यौन व्यवसायी, देहव्यापारी भनेको मन पर्दैन। ‘हामी यौनकर्मी होइनौँ, देहव्यापारी होइनौँ, यौन व्यवसायी पनि होइनौँ,’ उनले भनिन्, ‘हामी त यौनको श्रम गर्ने यौन श्रमिक हौँ। हामीले शरीरको व्यापार होइन, शरीरको श्रम गरेका हौँ।’अन्नपूर्ण पोस्टमा खबर छ ।