फूलप्रसाद सुबेदी, उप–प्राध्यापक
काठमाडौं, २५ फागुन ।
माघ २५ गते शनिबार भारतको राजधानी दिल्लीमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टी (आप) ले दोस्रो पटक लगातार शानदार बहुमतका साथ विजय हासिल गरेको छ । राजनीतिक इतिहासमा यस्ता विजय बिरलै पाइन्छ । जम्मा सतरी सिटका लागि भएको निर्वाचनमा आपले बैसठी, भारतीय जनता पार्टी (बिजेपी) ले आठ सिटमा विजय हासिल गरेका छन् भने कांग्रेसले एक सिटमा पनि विजय हासिल गर्न सकेन । चुनावका बेला आकाशका जुन तारा पनि झार्न पछि नपर्ने र अरूबेला सिन्को पनि नभाँच्ने राजनीतिक संस्कार हुर्किएको समयमा आप भने आफ्ना विकासका कार्यक्रमका कारण सत्तामा विराजमान हुन् पुगेको छ । आपको विजयसँगै चुनावी मिथ्या कुटनीतिको साटो कर्मवादी राजनीतिको सङ्केत देखापरेको छ । यससँगै दिल्लीका मुख्यमन्त्री एवम् आपका राष्ट्रिय संयोजक अरविन्द केजरीवालको चर्चा चुलिएको छ ।
केजरिवालको पृष्ठभूमि
सन १९६८ अगष्ट १६ तारिखमा भारतको हरियाणामा जन्मेका केजरिवालले आइआइटि खरगपुरबाट मेकानिकल इञ्जिनियरिङ्ग गरेका हुन । सन् १९८९ मा अध्ययन लगतै जम्सेदपुरमा रहेको टाटा स्टीलमा तीन वर्ष कामगरी लोकसेवाको तयारीमा जुटे र सन् १९९५ मा सहायक कर आयुक्तको पदमा नियुक्त भए । कामकै सिलसिलामा सरकारी क्षेत्रमा रहेका बेथिति र नागरिकहरूले पाइरहेको पीडा देखेर उनी स्वयम् पीडित बने । यही पृष्ठभूमिका कारणले नै सन् १९९९ मा आफू, मनिष सिसोड़िया तथा अन्य साथीहरू मिलेर दिल्लीको सुन्दर नगर क्षेत्रमा ‘परिवर्तन’ नामक अभियानको थालनी गरे । यही अभियान सन् २००५ मा गैर सरकारी संस्था ‘कबिर’ मा परिणत भयो । यसै क्रममा उनले कैयौ नागरिक सरोकारका सवालमा आवाज उठाई सम्बन्धित पक्षलाइ बारम्बार धर्ना दिने, भोक हड्ताल गर्ने एबम प्रदर्शनका माध्यमबाट झक–झक्काउने काम गरे । विशेष गरी सरकारी कामकाजको पारदर्शिता, सूचनाको हक, व्यवसायिक संस्थाहरूको सामाजिक उत्तरदायित्व, न्युन वर्गीय नागरिकहरूको अधिकार, भ्रष्टाचार आदि नागरिक सवालका क्षेत्रमा केजरिवाल र उनको समूहले जन दबाब सिर्जना गर्नुका साथै उल्लेख्य सफलता पनि पाए । सन् २००६ मा सरकारी जागिर छोडी केजरिवाल पूर्णकालीन सामाजिक कार्यकर्ता भए । यसै साल उनले सामाजिक क्षेत्रमा गरेको योगदानको कदर स्वरूप ‘म्यागसेसे’ पुरस्कार पाए । सामाजिक कार्यको तीब्रतासँगै उनी सन् २०१०÷११ मा अन्ना हजारेको नेतृत्वमा भएको भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी हुँदै गर्दा ‘नीतिको मूल राजनीति नसुध्रिएसम्म आमुल परिवर्तन नहुने’ निष्कर्षमा पुगे र सन् २०१२ मा आप पार्टीको गठन गरे ।
राजनीतिक यात्रा र उपलब्धि
प्रारम्भमा केही सामाजिक कार्यकर्ताहरूले उनको पार्टीलाई परित्याग गरेता पनि भ्रष्टाचार बिरोधी सामाजिक अभियन्ताको छवि बनाएका केजरिवालले गठन गरेको पार्टीलाई कांग्रेस र भाजपाको तेस्रो वैकल्पिक शक्तिको रूपमा हेर्न थालियो । सन् २०१३ मा भएको निर्वाचनमा उनको पार्टीले २८ सिटमा विजय हासिल गरेसँगै दोस्रो कान्छो मुख्यमन्त्री भएका केजरिवालले सन् २०१४ फेबुअरी १४ मा भ्रष्टाचार बिरोधी ’लोकपाल विधेयक’ लाई अगाडि बढाउन नसक्नुका साथै केन्द्र सरकारसँगको द्वन्द्व कारण राजीनामा दिए । आवेगको राजिनामा, सन् २०१५ को लोक सभामा समर्थकहरुको उक्साहटमा काशीबाट चुनाब लड्नु र तीन लाख सत्तरी हजार मतले मोदीसँग पराजित हुनु, योगेन्द्र यादव, कपिल मिश्रा एवम् कुमार विश्वासको पार्टीबाट बहिर्गमन आदि केजरिवालका तीक्त अनुभव रहे । पुनः २०१५ मा भएको दिल्ली विधान सभाको निर्वाचनमा आपले ७० मध्ये ६७ सिट का साथ प्रचण्ड बहुमतले विजयी भएसँगै मुख्यमन्त्री भएका केजरिवाललाई केन्द्रद्वारा नियुक्त उप–राज्यपालसँगको द्वन्द्वले प्रारम्भमा कार्य गर्न कठिन भए तापनि सन् २०१८ को जुलाईमा आएको सर्वोच्च अदालतको निर्णयले केजरिवाल विरुद्ध मोदी मानिएको टकराबको अन्त्य गर्नुका साथै दिल्ली सरकारको निर्णय लिने अधिकारलाई पनि सहजीकरण गर्यो ।
केजरिवाल सरकारले पाँच वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, महिला सुरक्षा आदि क्षेत्रमा घोषणा गरेभन्दा कम तर उल्लेख्य राम्रा कामहरू गर्यो । भ्रष्टाचार नियन्त्रण हेतु ‘लोकपाल विधयेक’ पारितगर्नु, सरकारी स्कुलमा बीसहजार वातानुकूलित कक्षाकोठा, सभाकक्ष तथा पौडी पोखरी लगायतका अत्याधुनिक पूर्वाधारको निर्माण, शिक्षक तथा शिक्षिकाहरूलाई सिंगापुर, फिनल्याण्ड, बेलायत लगायतका विकसित देशहरूमा तालिम गराई पठन–पाठनमा सुधार, पाठ्यक्रममा बालमैत्री सिकाई तथा उद्यमशीलतामा जोड, दिल्लीका स्कुलहरुलाई भारतकै उत्कृष्ट स्कुलहरूमा परिणत गर्नुका साथै निःशुल्क विश्वबजार सुहाउँदोे शिक्षा प्रदान, मोहल्ला क्लिनिक, पोली क्लिनिक तथा अस्पताल गरी तीन तहका स्वास्थ्य संस्थाहरूको निर्माण तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान, जटिल स्वास्थ्य सेवा निजी क्षेत्रका अस्पतालबाट लिन पर्ने अवस्थामा सरकारद्वारा भुक्तानीको व्यवस्था, दुईसय युनिटसम्म घरायसी विद्युत निःशुल्क, महिलाहरूलाई निःशुल्क सार्वजनिक यातायात, सार्वजनिक बसमा महिला सुरक्षा व्यवस्था, पन्ध्र लाख सिसिटिभी क्यामेरा जडान, सरकारी सेवाहरू घरदैलोमै उपलब्धता आदि केजरिवाल सरकारका राम्रा कामहरूको श्रेणीमा पर्दछन् ।
चुरो–कुरो एवम् रणनीति
निरन्तर जनपक्षीय मुद्दाको उठान र तिनको पैरवी नै केजरिवालको उदयको प्रमुख कारण हो । आफ्ना कामहरुलाई जनतासँग राम्रो राख्न सक्नु, कैयाँै सेवा निःशुल्क दिएर पनि सुशासन एवम् भ्रष्टाचार नियन्त्रण गरी सरकार नाफामा हुनु तथा आर्थिक वृद्धि अन्य राज्यको तुलनामा उच्च कायम गर्नु, भाजपा समर्थित सञ्चार माध्यम अर्थात् मोदी मिडियालाई तिनकै विरुद्ध उपयोग गर्नसक्नु, धार्मिक तथा अन्य कुनै पनि प्रकारको अतिवादको टेवा नलिनु एवम् संयम कायम गर्नु, प्रतिस्पर्धी उम्मेदवारहरूको तुलनामा केजरिवालको सामाजिक छवि उच्च हुनु, सकारात्मक पृष्ठपोषण, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले दिल्ली सरकारका कामहरूको सह्राना गर्नु तथा अन्य राज्यहरूले पनि उनका योजनाहरूको सिको गर्नु आदि कारणहरूले केजरिवालको विजय सुनिश्चित गराएको देखिन्छ ।
चुनौती पनि छन्
यमुना नदीको बिजोग र दिल्लीको प्रदूषण, पार्टीभित्र एकतन्त्रीय नेता भनेर लाग्ने गरेको आरोप, व्यक्तिगत आचरणमा थप सहिष्णु बन्नु, पार्टीलाई थप मजबुत बनाउनु र दिल्लीबाहिरको राष्ट्रिय राजनीतिमा पार्टीको स्थान सुरक्षित गर्नु, सुधार र सेवा कार्यक्रमको निरन्तरता तथा जनतालाई बाँडेका बाँकी वाचा पूरा गर्नु लगायतका चुनौतीहरूलाई केजरिवालले समयसापेक्ष ढङ्गले सम्बोधन गर्न र व्यवस्थापन गर्न सक्नुपर्ने देखिन्छ । केजरिवालको राजनीतिक भविष्यका लागि यो अग्निपरीक्षा पनि हो ।
नेपालमा नि ?
चुनावी घोषणा पत्रमा उल्लेखित कार्यहरु गर्नु त कता हो कता टोलै पिच्छे आलाप गर्दै हिड्ने नेपाली नेता र पार्टीको अन्धभक्ति तथा चुनावी चिल्ला कुरा एवम् खानपानको तालमा भोट हाल्ने नेपाली जनताले दिल्ली विकास मोडल र चुनावबाट धेरै कुरा सिक्न सक्दछन् । नेपालमा पनि तेस्रो वैकल्पिक राजनीतिक शक्तिको चर्चा यदाकदा चल्ने गरेको छ । तिनीहरू सामाजिक सन्जालमा सक्रिय भेटिन्छन् । यस्ता विषयहरू शहर बजारमा बौद्धिक बहसका खुराक बने पनि वास्तवमै जनसरोकारका मुद्दा उठाउन सकेको देखिँदैन । यस अवस्थामा केजरिवालको बाटोले तिनलाई राष्ट्रिय राजनीतिमा सम्मानजनक स्थान दिन सक्दछ । ठूला राजनीतिक दलहरूले पनि सु–शासन, जन–उत्तरदायित्वका सवालमा गम्भीर भई कार्य गरेर आफ्नो अस्तित्वको रक्षा गर्नुका साथै मुलुकको रूपान्तरणमा टेवा दिन सकिन्छ भन्ने कुरा बुझ्न जरुरी देखिन्छ । ‘राजनीति’ भन्ने बितिकै नाक खुम्चाउने शिक्षित युवाहरूले केजरिवालको जीवन हेरेर पनि देशको मूल नीति राजनीति र राजनीतिक संस्कारको सुधारको लागि यथेष्ट योगदान दिन सक्नेछन् ।