ओली, नेपाल र खनाल एकजुट हुने संकेत, प्रचण्डविरुद्ध घेराबन्दी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्डविरुद्ध भेराबन्दी शुरु भएको छ । सरकार ढाल्न उद्यत रहेको भन्दै हाल अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले गत फागुन १४ को सचिवालय बैठक लगत्तै आफूविरुद्ध षडयन्त्र गर्नेहरूको सामना गर्ने बताएका थिए । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने र ओलीलाई अल्पमतमा पारेर संविधान संशोधन गरी सरकार ढाल्ने योजना बनाएको आरोप प्रचण्डमाथि लागेको छ ।

गौतमसँग मिलेर प्रचण्डले सरकार ढाल्ने षडयन्त्र गरेको आशंकापछि ओली वरिष्ठ नेता माधव नेपालसँग निकट भएका थिए । नेपाललाई नजिक ल्याउन ओलीले अर्को कार्यकालमा नेपाललाई प्रधानमन्त्री बनाउन सघाउने आश्वासन दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार नेपालसँग परामर्श गरेर ओलीले प्रचण्डसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेपाललाई हात लिएर ओलीले प्रचण्डविरुद्ध घेराबन्दी शुरु गरेको स्रोतको दाबी छ ।



खनाललाई फकाउँदै ओली
अस्पतालमा आराम गरिरहेको भए पनि ओलीले आफूनिकट नेता ईश्वर पोखरेलमार्फत पार्टीभित्र चलखेल गरिरहेका छन् । ओलीकै इशारामा नेपाल र पोखरेलबीच पछिल्लो साता २ पटक भेट भैसकेको छ । उनीहरूले नै मन्त्रिपरिषद् पुर्नगठनको ड्राफ्ट तयार गरेको स्रोतको दाबी छ । फोनमा पनि ओली र नेपालबीच पछिल्ला दिनहरूमा बाक्लै कुराकानी हुने गरेको बताइन्छ । नेपालले ओलीकै आग्रहअनुसार अर्का नेता झलनाथ खनाललाई पनि भेटेका छन् ।

भेटमा नेपालले नेकपा पूर्व माओवादीको हात जान दिनु नहुँने भन्दै पूर्वएमालेबीच एकता हुनु जरुरी रहेको बताएका थिए । ओली र आफूबीच भएका भेटमा ओलीले पार्टी नै पूर्व माओवादीको हात जान लागेको बताएको भन्दै नेपालले प्रचण्डको साथ छोडेर ओलीसँगै एकजुट हुनुपर्ने बताएका थिए । ओलीकै मास्टारप्लान अनुसार सचिवालयमा प्रचण्डलाई एक्याउने तयारीमा नेपालले साथ दिएका छन् । खनालसँगको भेटमा नेपालले आगामी निर्वाचनसम्म ओलीलाई सरकार चलाउन दिने र निर्वाचनपछि ओली पार्टी चलाउने र आफू प्रधानमन्त्री र खनाललाई राष्ट्रपति बनाउने मोडलमा सहमति हुन सक्ने बताएका थिए ।

नेपालले नै ओलीको पक्षमा मोर्चाबन्दी शुरु गरेकोले नेकपाबाट पूर्व माओवादीहरू पेलिने सङ्केत देखिएको छ । ओली नेपाल र खनाल मिलेमा प्रचण्डलाई नेकपामा रहेर आफ्नो अस्तित्व बचाउन फलामको चिउरा चपाउनु सरह हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सम्बन्धित समाचार