विप्लव नेकपासँग वार्ता प्रयास गर्दै सरकार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारी वार्ता टोलीले वार्ता प्रयास गरिरहेको छ । सरकारले खटाएको वार्ता टोली र प्रतिबन्धित पार्टीका प्रतिनिधिबीच केही महिनायता नै तीनपटक अनौपचारिक कुराकानी भइसकेको छ । प्रतिबन्धित पार्टीसँग वार्ता गर्न एक वर्षअघि सरकारले पूर्वमन्त्री एवम्‌ नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो । तर प्रतिबन्धित पार्टीले सरकारद्वारा पक्राउ गरिएका आफ्ना सवै नेतारकार्यकर्ता रिहाइ हुनुपर्ने पूर्वशर्त राखेपछि वार्ता अघि बढ्न सकेको थिएन ।

यतिखेर भने उनै सांसद पाण्डेमार्फत वार्ताको पहल भइरहेको छ । स्रोतका अनुसार पाण्डेले करिब एक महिनाअघि प्रतिबन्धित पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ र दशैंताका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेका थिए । बाँस्तोला प्रतिबन्धित पार्टीका पाँच सचिवालय सदस्यमध्ये एक एवम्‌ पश्चिम कमाण्ड इञ्चार्ज हुन्‌ ।



वार्ताका लागि पहल गरिरहेका पाण्डेले पनि प्रतिबन्धित पार्टीसँग आफू निरन्तर सम्पर्कमा रहेको, तर त्यो अनौपचारिक रहेको बताएका छन्‌ । ‘चन्द समूहले सचिवालय सदस्य बाहेकसँग गरिएको कुराकानी पार्टीको आधिकारिक धारणा नहुने खबर पठाएपछि म त्यहीअनुसार नै वार्ता र संवादका लागि अनौपचारिक सम्पर्कमा छु, सरकारले पनि वार्ताबाट समाधान चाहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराएरै प्रतिबन्धित पार्टीका नेतासँग अनौपचारिक सम्पर्क गरिरहेको छु।’

२०७५ फागुन १० गते नख्खुस्थित एनसेल टावर र फागुन २४ गते वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट गराएपछि सरकारले व्यवस्थासँग असन्तुष्ट भनिएको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । तर प्रतिबन्ध लागेको एक बर्ष भइसक्दा पनि प्रतिबन्धित पार्टीको गतिविधी न निस्तेज भएको छ, न त वार्ता नै भएको छ। प्रतिबन्धित पार्टीको गतिविधी नियन्त्रण गर्न सरकारले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई खटाएको छ, भनेर आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ।

सम्बन्धित समाचार