मानव मनोविज्ञान र गीता

प्रत्येक मानवले आन्तरिक भावनात्मक जगतलाई आधारमानी जीवनलाई हेर्दछ । बाह्य परिस्थितिभन्दा पनि त्यस परिस्थितिमाथि व्यक्तिको क्रिया एवम् प्रतिक्रियाले उसलाई सुखी तथा दुःखी बनाउँदछ । आन्तरिक रूपमा मन र बुद्धिको सुक्ष्म सत्ता एवम् बाह्य रूपमा जगत् अर्थात् स्थूल भौतिक सत्ता निरन्तर परिवर्तनशील छन् । तर प्रायः अवस्थामा व्यक्तिले यो अनित्य सत्तालाई भ्रमपूर्ण रूपमा नित्य ठानी आशक्ति जगाउँदछ । यही आशक्ति नै दुःखको कारण बन्दछ ।

आन्तरिक सुक्ष्म सत्ताको निरन्तर प्रतिक्रिया एवम् बाह्य स्थूल जगत्का वस्तुहरूलाई इन्द्रियहरूले ग्रहण गर्दै जाँदा विस्तारै शरीरमा संस्कार सङ्ग्रह हुँदै जान्छ । यिनै संस्कारहरू नै हाम्रो मनमा हुने उथलपुथल (दुविधा) अर्थात् मनको बादलका कारणहरू हुन् । सबै कुरा प्रथमः मनबाट नै उत्पन हुन्छ, चाहे त्यो विश्व युद्ध होस् वा घरायसी स–साना खटपट । के यी मनका बादल अर्थात् आवेगहरू नित्य हुन् ? भौतिक रूपमा अस्तित्व नभएका यी आवेगले किन उथलपुथल पार्दछन ? के यिनलाई व्यवस्थापन गर्न सकिँदैन ?



यथार्थता त के हो भने आन्तरिक क्षेत्र जति बढी स्थिर हुन्छ त्यति नै बाह्य जगत्मा उन्नति एवम् प्रगति गर्न सकिन्छ । मुख्य कुरा त के हो भने जबसम्म कारण शरीरमा दःुखको बीज अर्थात् संस्कारको संग्रह रहन्छ, मानव निरन्तर दु:खको भुमरीमा परिरहन्छ । संसारिक तथा व्यवहारिक दृष्टिले हेर्दा भौतिक शरीर त बोध हुन्छ तर सतहिरूपमा कारण एवम् सुक्ष्म शरीर बोध हुँदैन । यस अवस्थामा न त स्थूल भौतिक सत्ता न मन, बुद्धि एबम् संस्कारको सूक्ष्म सत्तालाई नै अस्विकार गर्न मिल्दछ । यस परिस्थितिमा अति आशक्तिपूर्ण आवेगभन्दा जागरूक एवम् सचेत मध्यमार्ग नै उपयुक्त हुन् सक्दछ । गीतामा कृष्णले यिनै जागृत मध्यमार्गका विषयमा चर्चा गरेका छन् । अर्थात् कृष्णले गीतामा मानव मनोविज्ञानको विस्तृत चिरफार गर्नुका साथै सुख तथा दःुखका कारणहरू एवम् जीवनका यावत आयामहरूको ब्याख्या गरेका छन् । मुलतः यो ज्ञान एक्काईसौ शताबदीमा भौतिक सुखका साथै मानसिक शान्ति प्राप्त गर्नका निम्ति सहज मार्ग हुन् सक्दछ ।

सतही रूपमा हेर्दा गीता चिनिया सैन्य रणनीतिकार, दार्शनिक एबम् लेखक ‘सुन सु’ को प्रसिद्ध कृति “आर्ट अफ वार“ जस्तै युद्धकला सम्बन्धी ग्रन्थ हो कि जस्तो लाग्दछ । हुन पनि गीताको अध्याय दुई श्लोक १४ मा अनिर्णयको बन्दी बनेका अर्जुनलाई कृष्णले कार्ल माक्र्सको शैली मा ’युद्धमा मृत्यु भएमा सदगति प्राप्त गर्ने छौं, जितेमा धर्तीको राज्य भोग्ने छौ’ भनी उत्प्रेरित गर्दछन् तर वास्तविकता अर्कै छ । लगतै पन्ध्रौँ श्लोकमा कृष्णको “सुख–दुःख दुबैमा समभाव भई ईष्र्या, द्वेष एबम् बदलाको भावनाबाट माथि उठी कर्तव्य पालनाको निम्ति कर्म गर अर्जुन’’ भन्ने अभिव्यक्तिले वास्तविक आशय स्पष्ट हुन्छ ।

वास्तवमा गीता ज्ञान भौतिक युद्धभन्दा पनि मानवको आन्तरिक रूपान्तरणमा उपयोगी हुने एउटा महत्वपूर्ण मार्ग–दर्शिका हो । प्रायः पूर्वीय दर्शनका सम्बादहरू कुटी वा एकान्त एवम् शान्तिपूर्ण स्थल नदी किनार वा जंगलहरूमा गुरु–शिष्य तथा ज्ञानी–जिज्ञासु सम्बादको रूपमा हुने गरेको देखिन्छ भने गीताको सम्बाद एक योद्धा र सारथीको बीचमा रणभूमिको बीचमा हुनु आफैमा सांकेतिक छ ।

तस्विरमा लेखक

संसारिक तथा बाह्य रूपमा महाभारत वर्तमान भारतको कुरूक्षेत्र भन्ने स्थानमा राज्य आकांक्षी दुई समूहका दाजु भाइहरू कौरव पक्ष र पाण्डव पक्षबीचको युद्धको रूपमा लिने गरिन्छ तर आध्यात्मिक एवम् सांकेतिक हिसाबले यो आफैभित्रको सदगुण र दूर्गुणबीचको टकराब अर्थात् द्वन्द्वात्मक अवस्था हो । लाक्षणिक हिसाबले हाम्रो आफ्नै मानव शरीर एवम् मनसहित इन्द्रियहरूको समूह युद्धस्थल ’कुरूक्षेत्र’ हो भने हाम्रा सदगुणहरू पाण्डव हुन् अनि दुर्गुणहरू कौरव । सारथिको भूमिकामा रहेका श्रीकृष्ण व्यक्तिभित्रको बुद्धि, विवेक, चेतना तथा ज्ञानको प्रतीक हुन् भने हौसिएर युद्धमा होमिएका तर वस्तुगत परिस्थितिदेखि विक्षिप्त अवस्थामा रहेका अर्जुन क्लेश, राग, द्वेष, मोह एवम् अन्तरद्वन्द्वले ग्रसित मनको सङ्केत हुन् । मूलतः अर्जुन आधुनिक संसारिक मानवको प्रतिनिधि पात्र हुन् । आजको मान्छेको अवस्था बिलखबन्धमा परेको अर्जुनको जस्तै छ । सीप, कौशल एवम् प्रतिस्पर्धाका हिसाबले उत्कृष्ट तर मानसिक शान्ति एवम् नैतिकताका दृष्टिले दुविधापूर्ण ।

चलन चल्तीको भाषामा गीता भनिएता पनि गीताको पुरानाम ‘श्रीमद भागवत गीता’ हो । यो प्राचीनतम तथा चर्चित ग्रन्थहरूमध्ये एक हो । मूलरूपमा संस्कृतमा लेखिएतापनि यो ग्रन्थ लगभग संसारका सबै प्रचलित भाषाहरूमा अनुवादित छ । गीता संसारकै सबैभन्दा ठूलो तथा पाँचौ वेदको रूपमा स्वीकारिएको ग्रन्थ ’महाभारत’ को एक भाग हो । महाभारतको भीष्म पर्वअन्तर्गत २५ देखि ४२ अध्यायसम्म श्रीमद भागवत गीताको प्रसङ्ग छ । गीता सातसय श्लोक र अठार अध्यायमा संरचित छ । यो ग्रन्थ पाण्डु पुत्र अर्जुन र श्रीकृष्णबीचको रणभूमिमा भएको सम्वादको रूपमा रहेको छ । अध्यात्मिक/आन्तरिक यात्रा अथवा आफूलाई जान्ने वा आधुनिक भाषामा आफू स्वयंको मनोविज्ञानलाई बुझन् चाहने सम्पूर्ण मानवहरूका निम्ति एउटा महत्वपूर्ण ग्रन्थ हो ।

महाभारतलाई सम्प्रदाय विशेषको मात्र पुस्तक मान्नु तथा बौद्धिक विलासिता एवम् लोकाचारका निम्ति सतही औपचारिक अध्ययन मात्र गर्नु किमार्थ पनि बौद्धिक कदम होइन । आध्यात्मिक यात्रा छिचोल्नका निम्ति व्यक्तिले गीता, अभिधम्म पिटक एवम् सतिपट्ठान सुत्त आदि ग्रन्थहरूको बोधपूर्ण अध्ययन गर्दैे पुर्वीय परम्परामा आधारित ज्ञान प्राप्तिका तीन चरणहरू क्रमशः श्रवण, मनन् एवम् निदिध्यासनलाई पार गर्दै अनुसन्धानकर्ता सरी पूर्णतः तटस्थ एवम् निष्पक्ष भई आफैभित्र क्रिया एवम् प्रतिक्रियालाई अवलोकन गर्दै कार्य–कारण सम्बन्धलाई बोध गरी मनको शान्ति तथा भौतिक प्रगतिको पथमा लम्कन सक्दछ । जसले आजको “वैश्विक मानव“ लाई पूर्णता दिन सक्दछ । यहाँ बुझ्नै पर्ने एउटा महत्वपूर्ण कुरा के छ भने आध्यात्मिक यात्रा हरेक व्यक्तिले आफै तय गर्नुपर्दछ । अर्को व्यक्तिको अनुभव वा मार्ग निर्देशिका उपयोगी हुने भएता पनि यस यात्रामा आफ्नो जिम्मा आफैं लिनु पर्दछ ।

सम्बन्धित समाचार