नियम मिच्नेलाई अब ट्राफिकले गर्नेछन् ‘नमस्कार’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सहचालकलाई चिट काट्ने अनि सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइनेछ । सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अब कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्छन् । त्यसपछि आवश्यकता अनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् । उनीहरुलाई सम्झाउँछन् र ट्राफिक नियमको पालना गर्न सचेत गराउनेछन् ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मियता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार सुरूवात गरका हौँ’, महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।



यसैबीच महाशाखाले कानुन कार्यान्वयनको कामलाई भने कडाइका साथ कार्यान्वयन गरिरहेको छ । ‘गल्ती महसुस होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझून् भनेर यो अभियान शुरु गरेका हौँ’, महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्वअनुशासनमा सवारीसाधन चलाउन मद्दत पुग्छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नेबित्तिकै एसएसपी ढकालले आफ्ना सात वटा प्राथमिकता सार्वजनिक गरे । दक्ष, अनुशासित, मेहनति, सुजबुझ ढङ्गले काम गर्ने स्मार्ट ट्राफिक प्रहरी बनाउने एसएसपी ढकालको पहिलो प्राथमिकता अनुसार ट्राफिक प्रहरीहरूलाई विभिन्न तालिम र अनुशिक्षण पनि प्रदान भइरहेको छ ।

सम्बन्धित समाचार