कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ हजार नाग्यो

कोरोना भाइरसले मंगलबार बिहानसम्म सातहजार १७१ जनाको ज्यान लिएको छ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म सात हजार १७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १ लाख ८२ हजार ६०९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ७९ हजार ८८३ जना उपचारपछि फिर्ता भइसकेका छन् ।

अहिलेसम्म सबैभन्दा बढी चीनमा यो भाइरसका कारण ज्यान गुमाएका छन् । चीनमा मात्रै ३२२६ जनाको मृत्यु भएको छ । त्यसपछि इटलीमा २१५८ जनाको ज्यान गएको छ । इरानमा ८५३ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ३४२ जनाले ज्यान गुमाएका छन् ।



दक्षिण कोरियामा ८१, जर्मनीमा १७, फ्रान्समा १४८, अमेरिकामा ९१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमण रोक्न युरोपेली मुलुकका सरकारलाई अझ बढी उपाय अवलम्बन गर्न बाध्य बनाएको छ । कोरोना भाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल तथा रेस्टुरेन्ट बन्द गरिएका छन् । फ्रान्सले अति जरुरीबाहेक व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा कडाइ गरेको छ ।

बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औँल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौन क्लब र क्याफेहरू बन्द गर्न आदेश दिएको छ ।

अस्ट्रियाले पाँचभन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको छ । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि कोरोना भाइरसको विस्तार रोक्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ ।

सम्बन्धित समाचार