खानेपानीमन्त्री विना मगरलाई बेपत्ताको सूचीमा राखिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक गरेको हो ।
आयोगले मंगलबार सार्वजनिक गरेको बेपत्ताहरुको सूचीमा खानेपानी मन्त्री विना मगरको पनि नाम छ । कञ्चनपुरको कालिका ५ स्थायी ठेगाना भएकी मन्त्री मगरको नाम द्वन्दकालमा बेपत्ता भएको भन्ने उजुरीका आधारमा राखिएको बताइएको छ । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने गोप्य राखिएको छ ।
मन्त्री मगर व्यस्त भएका बताउँदै स्वकीय सचिव विजयदेव भट्टराईले भने, ‘मन्त्रीज्यूलाई तत्कालीन द्वन्द्वकालको समय अर्थात् २०६० सालमा शाही नेपाली सेनाले गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारीपछि उहाँ गैरन्यायिक हिरासत भएको हुँदा बेपत्ताको उजुरी परेको थियो । उजुरी दर्ता हुँदाको अवस्थासम्म बेपत्ता रहेकोले अहिले बेपत्ताको सूची सार्वजनिक हुँदा उहाँको नाम रहेको हो ।’
२०६० सालमा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेर २७ महिनासम्म बेपत्ता अवस्थामै भैरवनाथ गणमा २७ महिनासम्म गैरन्यायिक हिरसातमा रहेकी थिइन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उनको नाम आंशिक बेपत्ताको सूचीमा रहेको जनाएको छ । आयोगका सूचना अधिकारी नीराजन घिमिरेका अनुसार आयोगले पूर्ण बेपत्ता र आंशिक बेपत्ता गरी दुई किसिमले बेपत्ता भएका व्यक्तिको नामावली तयार गरेको हो ।