सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजका लागि सचिवालय बैठक डाकेको छ । मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने यो बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्यण गरिने बुझिएको छ ।
यसअतिरिक्त कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।