गिजोलियो नेकपा, ओलीले पूर्वमाओवादीलाई पेल्न थालेपछि पार्टी फुट्ने चर्चा

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीतिक समीकरण गिजोलिन पुगेको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको राजनीतिक खिचातानीले गर्दा भर्खरै एकीकरणपछि बनेको नेकपामा फुट त आउने होइन भन्नेसम्मको आशंका पैदा गरेको छ । प्रचण्डले पूर्वएमालेकै नेताहरुसँग आफूले पाएको कार्यकारी पदको उपभोग गर्न ओलीले नदिएको भन्दै यसरी त कति दिनसम्म चल्न सकिन्छ र ? भन्दै दुखेसो पोखेका थिए । ओलीले आफूखुसी बैठक डाक्ने गरेको र आफूहरूले उठाएको विषयमा छलफलै नगरी बेवास्था गरेको प्रचण्डको आरोप थियो ।

यता ओली भने प्रचण्डले सरकारलाई अप्ठ्यारो पार्न उद्यत रहेको आरोप लगाउदै आएका छन् । गत १८ फागुनको सचिवालय बैठकमा बहुमतको दम्भको आधारमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिएको र संविधान संशोधन गर्न दबाब दिंदै सरकार ढाल्ने योजना बनाएको ओलीको आरोप थियो । सो बैठकपछि ओलीले सरकार ढाल्ने योजनाअनुरूप गौतमलाई राष्ट्रियसभामा पठाउन लागिएको भन्दै सो निर्णय कार्यन्वयन नहुने भन्दै अब वारपारको लडाइँ हुने चेतावनी दिएका थिए । त्यसपछि माधव नेपाललाई फकाउन शुरु गरेका ओलीले माधवलाई हात लिएर प्रचण्ड र गौतमलाई पेल्ने रणनीति लिएको बुझ्न सकिन्छ । फागुन २२ को सचिवालय बैठकमा ओलीले प्रचण्डलाई छायामा पार्दै आफैले बैठक बोलाई आफ्नै एजेण्डामा मात्र छलफल गरेर बैठकबाट विदा भएका थिए ।



कार्यकारी अधिकार खोसिएको प्रचण्डको दुखेसो
ओलीले आफूलाई पेल्ने रणनीति लिएको बुझेका प्रचण्डले पूर्वएमालेका नेताहरुसँग यसरी पार्टी नचल्लने बताएका थिए । पछिल्लो सचिवालय बैठकबाट ओलीले आफ्नो कार्यकारी अध्यक्ष पदमै धावा बोलेको उनको आरोप थियो । ‘गौतमलाई राष्ट्रियसभामा लैजाने मेरो मात्र योजना होइन, तपाईहरू सबैले साथ दिनुभएकै हो, तर त्यही विषयलाई लिएर ममाथि घेरान्दै भैरहेको छ । यो त राम्रो भएन’ प्रचण्डको भनाइ उध्रित गर्दै स्रोतले भन्यो ।

पछिल्लो समय नेपालले आफ्नो साथ छोडेर ओलीलाई साथ दिएकोमा पनि प्रचण्डले दुःख पोखेका थिए । नेपालको ढुलमुले पाराको फाइदा ओलीले उडाएको भन्दै प्रचण्डले पूर्व माओवादीलाई पेलेरै तह लगाउछु भन्ने कसैले सोचेको भए त्यसको परिणाम राम्रो नहुने बताएका थिए । गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालय निर्णयलाई बेवास्था गरेर ओलीले निहुँ खोजेको उनको भनाई थियो । चीनका लागि नेपाली राजदुत लीलामणि पोखरेललाई छलफलविनै ओलीले फिर्ता बोलाएर पूर्व माओवादीलाई पेल्न थालेको भन्दै प्रचण्डले यस्तो पाराले कसरी एकै ठाँउमा रहन सकिन्छ ? भन्दै एकीकरण नै अप्ठ्यारोमा परेको सङ्केत दिएका थिए ।

बदला दिंदै ओली
प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिंदै ओलीले आफ्नै नेतृत्वमा ५ वर्ष सरकार चलाउने सुनिश्चितता गर्ने सर्त प्रचण्डसँग राखेका थिए । प्रचण्डले उक्त शर्तमा सहमति जनाएपछि मात्र ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष पद दिन तयार भएका थिए । तर कार्यकारी अध्यक्ष भएको ३ महिना नपुग्दै प्रचण्डले अनावश्यक चलखेल गरेको ओलीलाई चित्त बुझेन । प्रचण्डकै अनावश्यक चुरुफुरीले गर्दा नेपाल, खनाल र गौतमजस्ता आफ्नो अण्डरमा बसिरहेका नेताहरूले खेल्ने मौका पाएको ओलीको आरोप छ ।

प्रचण्ड र पूर्व माओवादीलाई पेल्ने रणनीति अनुरूप नै ओलीले नेपालसँग निकटता बढाएका थिए । नेपालको साथ पाएपछि ओलीले नियुक्तिदेखि लिएर पार्टीका गतिविधिमा पनि पूर्वमाओवादीलाई पेल्न शुरु गरेका हुन् । लीलामणि ओलीको रणनीतिको पहिलो शिकार भएका थिए । यता संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने बारे पनि ओलीकै योजना अनुरूप राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले सभामुख अग्निप्रसाद सापकोटालाई पेलेरै संसद सचिवालयमा कार्यरत सचिव डा. भरत गौतमको नाम सिफारिस गर्न दबाब दिएका थिए ।

नेकपाभित्रको शक्ति संघर्ष चर्किरहेकै बेला आज सचिवालय बैठक बस्दै छ । आजको बैठकमा ओली कुन रूपमा प्रस्तुत हुन्छन् भन्ने विषयले नेकपाको आगामी यात्रा कसरी अगाडि बढ्छ भन्ने कुराको सङ्केत गर्नेछ । आजको बैठकमा पनि ओलीले आफैं एजेण्डा राखेर प्रचण्डलाई पेलेमा नेकपा एकीकरण अप्ठ्यारोमा पर्नसक्ने राजनीतिक वृत्तमा विश्लेषण गरिँदै छ ।

सम्बन्धित समाचार