सरकारले काठमाडौं उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसबाट देशलाई जोगाउन सरकारले गरेको पूर्व तयारीका बारेमा जानकारी दिन विहीबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिए ।
उनले खाद्यान्न, नुन, चिनी, डिजेल, पेट्रोललगायतका वस्तुहरु पर्याप्त मात्रामा रहेको बताए । मन्त्री भट्टले अन्तर मन्त्रालय समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिइएको जानकारीसमेत गराए ।
डिजेल, पेट्रोल र ग्यास सञ्चित गरेर दुर्घटना ननिम्त्याउन पनि उनले आग्रह गरे । सामान्य अवस्थामा २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भए पनि अहिले ४५ हजार मेट्रिक टन आयात भइरहेको उनले बताए ।
अहिले सरकारसँग ३० लाखसम्म सिलिण्डर भर्नसक्ने अवस्था रहेको उनले जानकारी दिए । कालोबजारी गर्नेहरुलाई जरिबाना गरिएको उल्लेख गर्दै मन्त्री भट्टले अब जेलसम्मको सजाय हुन सक्ने बताए।