दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएको एक साता बितिसक्दा पनि नेकपा अध्यक्ष तथा प्रधानान्त्री केपी ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालयको निर्णय कार्यन्वयनको पहल नै गरेका छैनन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको पहलमा नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । सचिवालयले निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले सरकार ढाल्ने मनासायले गौतमलाई राष्ट्रियसभामा लैजान खोजिएको आरोप लगाउँदै निर्णय कार्यन्वयन नगर्ने अडान लिएका थिए ।
ओलीले सचिवालय निर्णय नै नमान्ने बताएपछि नेकपामा गौतमको विषयलाई लिएर विवाद कायमै रहेको छ । नेकपामा मध्यमार्गी नेताको छबी बनाएका माधव नेपालले ओलीलाई सचिवालयको निर्णय अस्वीकार गर्न नमिल्ने भन्दै सम्झाउने पहल गरेका थिए । ओलीलाई नेपालले संविधान संशोधन नगरी गौतमलाई राष्ट्रियसभामा लैजादा केही फरक नपर्ने भन्दै सम्झाएका थिए । तर ओलीले पछिल्लो समय सचिवालय निर्णय अस्वीकार पनि नगर्ने कार्यन्वयन पनि नगर्ने रणनीति अवलम्बन गरेका छन् ।
गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय भएपछि पनि नेकपा सचिवालयको बैठक २ पटक बसिसकेको छ । तर ती दुबै बैठकमा गौतमको विषयलाई ओलीले प्रवेश नै हुन दिएनन् । आफैंले एजेण्डा प्रस्तुत गर्ने र एजेण्डाबाहिर कुरै नगरेर ओलीले गौतमको विषयलाई बेवास्था गर्ने गरेका छन् । साथै ओलीले कार्यकारी अधिकार पाएपछि प्रचण्डले गर्दै आएका काममा पनि हस्तक्षेप गर्ने गरेका छन् । यसअघि सचिवालयको एजेण्डा तयार गर्नेदेखि बैठकको मिति तय गर्ने काम प्रचण्डले गर्दै आएका थिए । तर पछिल्ला २ बैठकमा प्रचण्डले गर्दै आएका यी काममा ओलीले हस्तक्षेप गरेका छन् ।
आफूइत्तरका शक्तिलाई साथ लिएर सरकार ढाल्ने रणनीति बुनेको आरोपमा ओलीले प्रचण्ड र गौतमलाई पेल्ने रणनीति लिएको बुझ्न सकिन्छ । त्यसको सङ्केतको रूपमा ओलीले प्रचण्डको कुर्ची पनि आफ्नो साथबाट हटाएर सोफामा बसाएको बालुवाटार स्रोतको दाबी छ । संक्रमणको बाहना बनाए पनि ओलीको रणनीति प्रचण्डलाई कर्नरमा पार्नु नै रहेको बताइन्छ । यदि संक्रमणकै डरले उक्त कदम चालेको भए ओलीको आडमा कुर्ची खाली राखेर प्रचण्डलाई सोफामा राख्न ओली तयार हुने थिए । तर ओलीले अब प्रचण्डको स्थान उनको समानान्तरमा हुन नसक्ने सङ्केत गरेको हुनसक्ने स्रोतको दाबी छ ।
यता पछिल्लो समय ओलीसँग नजिक भएका भनिएका नेता नेपालले ओलीलाई प्रचण्ड र गौतमलाई धेरै नपेल्न सुझाव दिएको पनि स्रोतको दाबी छ । ओलीको पेलाइले पछिल्लो समय निस्क्रिय बनेका गौतमले प्रचण्डलाई उचालेर नेकपा फुटाएमा नेकपा ध्वस्त हुने भन्दै गौतमले ओलीलाई सम्झाउने प्रयास गरेका छन् । गौतमलाई राष्ट्रियसभामा लगेर थन्क्याएमा त्यो खतरा टर्ने भन्दै नेपालले ओलीलाई सम्झाउने गरेका छन् ।
पछिल्लो समय नेपाल ओलीतिर ढल्किँदा नेकपाको शक्ति सन्तुलनमा व्यापक फेरबदल आएको छ । नेपालकै आडमा सभामुख चयन प्रक्रियादेखि गौतमलाई राष्ट्रियसभामा पठाउनेसम्मको निर्णय गराएका प्रचण्ड पछिल्लो समय आफैं अल्पमतमा परेका छन् र ओलीले कार्यकारी अध्यक्षको जिम्मेवारी खोसेको दुःखेसो गर्दै आएका छन् ।
यता उपाध्यक्ष र संगठन विभागको समेत जिम्मेवारी पाएपनि गौतम भने नेकपामा निष्क्रिय भएका छन् । ओलीले पटक पटक उचाल्ने र पछार्ने गरेको आरोप लगाउँदै आएका गौतमले राष्ट्रियभामा पठाउने सचिवालयको निर्णय कार्यन्वयन नभएसम्म कुनै योजना नबनाउने बताउँदै आएका छन् । यसका लागि उनले प्रचण्ड र नेपालमार्फत ओलीलाई दबाब दिँदै आएका छन् ।