चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ । पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ ।
हालसम्म कोरोना भाइरसको सवैभन्दा बढी संक्रमण देखिएका मुलुकहरुको सूचीमा क्रमशः चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स लगायत रहेका छन् । यी मुलुकहरुमा १० हजार भन्दा बढी संक्रमित रहेका छन् ।
सबैभन्दा बढी संक्रमित चीनमा ८१ हजार ५४ पुगेको छ । चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ६१ पुगेको छ । इटालीमा हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।
अहिले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ४८ पुगेको छ भने संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।
कोरोनाका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार ६४ पुगेको छ । सङ्क्रमित ३ लाख ८ हजार २ सय २७ मध्ये अहिलेसम्म १३ हजार ६४ जनाको ज्यान गएको छ । ९५ हजार ८ सय २६ जना उपचारपछि घर फर्किएका छन् । त्यसैगरी स्पेनमा २५ हजार ४ सय ९६ संक्रमित भएका छन् भने १ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् ।
इरानमा १५ सय ५६ ले ज्यान गुमाएका छन् भने २० हजार ६ सय १० जना संक्रमित रहेका छन् । जर्मनीमा हालसम्म ८४ जनाले ज्यनज गुमाएका छन् भने २२ हजार ३ सय ६४ जना संक्रमित भएका छन् ।