कोरोना भाइरसको संक्रमण फैलिएसँगै इटाली हाल ‘लकडाउन’ मा छ । भाइरसको कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय नाघेसँगै इटाली सरकारले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ ।
इटालीमा करिब ६० हजारजनामा भाइरसबाट संक्रमित भएका छन् । द गार्डीयनका अनुसार इटालीमा प्रत्येक दिन ५ हजारभन्दा धेरै व्यक्तिमा भाइरसको संक्रमण भएको देखिएको छ । गएको २४ घण्टामा मात्रै ६ सय ५१ जनाको भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
चीनको वुहानबाट फैलिएको भाइरसका बारण इटालीमा सबैभन्दा धेरै मानिस प्रभावित भएका छन् । चीनभन्दा इटालीमा भाइरसबाट मृत्यु हुनेको संख्या उच्च रहेको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवद्धाहरु रहेका छन् । भाइरसको संक्रमण विश्वभर फैलिएसँगै ६० वर्ष पार गरेका वृद्धवृद्धाहरुको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिएको छ ।
यसैबीच इटालीमा कोरोनाबाट संक्रमित एक ९५ वर्षीया वृद्धा उपचारपछि भाइरस मुक्त भएकी छिन् । फनानो बस्ने ती वृद्धामा गत महिना भाइरसको संक्रमण देखिएको थियो ।
भाइरसबाट मुक्त भएपछि स्थानीय मिडियासँग कुरा गर्दै उनले भनेकी छिन्, ‘म ठीक छु। अस्पतालमा मेरो स्याहार गर्ने सबैजना राम्रा मानिस थिए । अब केही बेरमा उनीहरुले मलाई घर फिर्ता पठाउने छन् ।’
हाल ती वृद्धालाई डिस्चार्ज गरिएको बताइएको छ । अस्पतालले ‘एन्टी भाइरल थेरेपी’ को माध्यमबाट ती वृद्धालाई कोरोना मुक्त बनाउन सफल भएको दाबी गरेको छ ।