स्वास्थ्यमन्त्रीको अस्वस्थ अभिव्यक्तिले निम्त्याएको भय !

चीनको वुहानमा डिसेम्बरको अन्तिम साता एक व्यक्तिमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका २ सयभन्दा बढी देशमा फैलिसकेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको भयावह स्थितिबाट नेपाल पनि मुक्त छैन । हाम्रै छिमेकी चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस ढिलै भए पनि नेपाल प्रवेश गरिसकेको अवस्था छ । कोरोनाको भाइरसको संक्रमण नेपाल प्रवेश गर्नुभन्दा पहिले संक्रमणबाट बच्न नेपाल सरकारले गर्नुपर्ने तयारीको लागि पर्याप्त समय हुँदाहुँदै पनि सरकारले जति गर्न सक्थ्यो त्यति पनि गर्न सकेन र जसका कारण अहिलेको अवस्था आइलाग्यो । तर अब नेपालभित्र नै संक्रमण भित्रिसकेपछि विगत सम्झेर पछुताएर मात्र अगाडि आएको समस्या समाधान हुनेवाला छैन ।

देशमा संकटको अवस्था सिर्जना भइसकेपछि अब यसबाट बच्नका लागि कसले के गर्न सक्छ, त्यसतर्फ सबै नागरिक सचेत र सजग हुनुपर्दछ । यो लडाइँ कुनै राजनीतिक दलसँग, कुनै व्यक्तिसँग, कुनै सरकारसँग र कुनै देशसँगको लडाइँ होइन । यो त पूरा मानव जातिको साझा लडाइँ हो । त्यसैले सबै नागरिक जिम्मेवार बन्नै पर्छ । त्योभन्दा बढी जिम्मेवार नेतृत्व तहमा भएकाहरू अर्थात् नागरिकका अभिभावकले बन्नु पर्छ । तर बिडम्बना जिम्मेवार तहमा भएका हाम्रा अभिभावकहरू यस्तो संकटको घडीमा पनि विवादित बोल्छन, विवादित कार्य गर्छन् र विवादित बन्न पुग्दछन् । देशका प्रधानमन्त्री केपी शर्मा ओली अहिले अस्वस्थ छन् । अस्वस्थ प्रधानमन्त्रीबाट जनताले कस्तो स्वस्थ्य जीवनको अपेक्षा गर्ने ? खैर केही छैन । पछिल्लो समयमा प्रधानमन्त्रीले जनतालाई एउटा सन्देश दिएका थिए– ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरू पनि घरमै बस्नुहोस् ।’ संकटको बेला घर परिवार नभनी दिन रात खटिरहेकाहरूलाई आत्मबल बढाउनु पर्नेमा यो सन्देश कति सान्दर्भिक छ त्यो त प्रधानमन्त्रीलाई सल्लाह दिनेहरूले नै जानून् !



प्रधानमन्त्रीपछि अहिलेको मुख्य जिम्मेवार व्यक्ति भनेकै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल हुन् । तर स्वास्थ्यमन्त्री कोरोनासँग लड्न सरकारले जुनबेलादेखि तयारी थाल्यो, त्यही बेलादेखि नै विवादित बनेका छन् । गत फागुन २७ गते राष्ट्रिय युवा संघले स्वास्थ्यमन्त्रीलाई कोरोनासम्बन्धी ध्यानाकर्षण पत्र बुझाउने क्रममा मन्त्री आफैंले दिएको अभिव्यक्तिले उनलाई विवादमा तान्यो । मन्त्री ढकालले ‘नेपालमा कोरोना संक्रमण फैलिए सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने भएकाले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ’ भनेका थिए । मन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै संसदमा समेत बिरोध भएको थियो । केही दिन अघि सामाजिक सञ्जालमा मन्त्री ढकालको एउटा भिडियो भाइरल बनेको थियो । सञ्चारकर्मीहरूले कोरोना भाइरसबाट बच्न सरकारको तयारी के छ भनी प्रश्न गर्दा मन्त्रीले ‘घरमा पाहुना आएकोले आज बोल्ने समय नभएको’ बताएका थिए ।

त्यसपछि अर्को घटना सरकारले समयमै पीपीई उपलब्ध गराउन नसकेको भन्दै जताततै सरकारको आलोचना भइरेहेका बेला मन्त्री ढकालले स्वास्थ्यकर्मी नै हतोत्साहित हुने खालको अभिव्यक्ति दिए । उनले भनेका थिए– ‘म त पिपिई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) भन्ने पनि बुझ्दिनँ । मनोविज्ञान कस्तो बन्यो भने अब पिपिई विना घरमा भात पकाउन पनि खतरा हुन्छ भन्ने अवस्था आयो ।’

त्यसपछि पनि मन्त्रालयमा भएको एक पत्रकार सम्मेलनमा मन्त्रीले नै नेपालमा कोरोना संक्रमित दोस्रो व्यक्तिको बारेमा जानकारी गराँउदा सयौं पत्रकारहरू बोलाएर भिडभाड गराएको भन्दै विवादित बने । त्यो भन्दाअघि नै सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिसकेको थियो जुन स्वास्थ्यमन्त्रीबाट नै उलंघन भयो । मन्त्रीको विवादित बन्ने क्रम त्यतिले पनि रोकिएन । कोरोना संक्रमितको बारेमा जानकारी गराउन चैत १२ गते गरेको पत्रकार सम्मेलनमा संयुक्त अरब इमिरेट्सबाट नेपाल आएका व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएकोमा मन्त्री ढकालले कतारबाट आएका व्यक्तिमा कारोनाको संक्रमण पुष्टि भएको भनेर गलत सूचना दिए । यसरी मन्त्री ढकाल साना कुरामा पनि चिप्लँदै गए । यतिसम्म कि कोरोना संक्रमित व्यक्तिको बारेमा मिडियामा आएपछि मात्र आफूहरूले थाहा पाएको भन्दै उपचारमा संलग्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका चिकित्सकहरूले दुखेसो समेत गरे । हुन त यस्तो विवादमा पर्ने भनेको नै काम गर्नेहरू हुन्, काम नगर्नेहरू विवादमा पर्ने कुरै भएन ।

तर अहिले देशमा संकटको अवस्था छ । विश्व स्वास्थ्य संगठन विज्ञहरूले परीक्षणको दायरा बढाउनु पर्ने बताइरहेका छन् । कोरोनाको संक्रमण आशंका अस्पताल आउने बिरामीहरू बढे पनि कतिपयले उपचार पाएका छैनन् । स्वास्थ्यकर्मीहरू आफूसँग आवश्यक उपकरण विशेषगरी टेस्ट कीट, पीपीई र मास्कको अभाव भएको बताइरहेका छन् । अर्काेतिर अहिले नेपाल कोरोना संक्रमितको संख्या थोरै भए पनि उनीहरू पनि आफूले राम्रोसँग उपचार नपाएको गुनासो गरिरहेका छन् । यति थोरै संक्रमित पहिचान हुँदा त राम्रो उपचार पाउन सकिरहेका छैनन् भने संक्रमित संख्या बढ्दै गए कस्तो अवस्था होला ? यस्ता विषयरूमा सरकारले विशेष जोड दिनुपर्ने देखिन्छ । सरकारको पहिचान नै संकटको बेला हुने भएकाले विवाद, टिकाटिप्पणी र आलोचनालाई पनि जिम्मेवार व्यक्तिले सहजरूपमा ग्रहण गरेर साना–मसिना गल्तीहरूबाट नै पाठ सिक्नु पर्छ । भनिन्छ, मानिसले संकटको खेतीमा सफलताको बोट उमार्न सक्छ । त्यसैले यस्तो राष्ट्रिय संकटको घडी आम नागरिक र स्वास्थ्यकर्मीको आत्मबल बढाउनकै लागि भए पनि जिम्मेवार व्यक्तिको कार्यशैलीमा पारदर्शिता, इमानदारिता र जवाफदेहिता देखिनै पर्छ ।

सम्बन्धित समाचार