अस्ट्रेलियाको अर्थतन्त्र धरासायी हुँदा नेपालमा बस्ने बुवाआमालाई पीडा हुन्छ । चर्को ब्याजमा घरजग्गा बैंकमा राखि छोराछोरी अस्ट्रेलिया पठाएका बुवाआमा नेपालबाट भन्न थालेका छन्–ग्राहो भयो भने नेपाल नै फर्कनु । तथापि, जागिर गुमाएका छोराछोरी अस्ट्रेलियाबाट आफ्नो वास्तविकता सुनाउन चाहँदैनन् । उनीहरु भन्छन्– जागिर त गुम्योगुम्यो, बाआमालाई थप चिन्ता किन दिनु, मुटुमाथि ढुंगा राखी बाँच्नै पर्यो नि !
उच्चशिक्षाका लागि अहिले अस्ट्रेलियामा ६० हजार हाराहारीमा नेपाली विद्यार्थी छन् । विश्वभरका करिब ७ लाख ५० हजार विद्यार्थी अस्ट्रेलियामा अध्ययन गर्दछन् । छोराछोरीको उज्ज्वल भविष्यको कामना गर्दे बसेका बाआमा अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण सुन्दा अहिले भोक न तिर्खामा छन् ।
सिड्नीमा अध्ययनरत सोनाक्षीको अहिले अन्तिम सेमेस्टर हो । गत फेब्रुअरीमा उनले साथीभाइसँग सरसापट र अलिकति आफूसँग भएको बचतले ११ हजार डलर अन्तिम सेमेस्टरको शुल्क तिरिन् । उनी एउटा कम्पनीमा काम गर्दै पढ्दै थिइन् ।
सिड्नीको एक्लो बसाइ उनका लागि पहिले त सहज नै थियो । तर, कोरोना महामारीको विपत्तिले अस्ट्रेलिया आक्रान्त बन्न थाल्यो, त्यसपछि सिड्नीमा बस्नका लागि उनका खुट्टा काँप्न थाले । कोभिडकै कारण उनले काम गर्ने ठाउँमा ताल्चा लाग्यो । केही जम्मा गरेको पैसा पनि कलेज शुल्क माग सक्यो ।
उनी भन्छिन्–जागिर छैन, १० हजार डलर त ऋण तिर्नै बाँकी छ के गर्नेरु अब मसँग भएको पैसाले एक महिना मात्र थेग्छ । सोनाक्षी जस्तै जागिर गुमाएर भौतारिरहेका विद्यार्थी अस्टेलियामा धेरै भेटिन्छन् । अर्को विद्यार्थी अनिस न्यौपानेले एयरपोर्टमा ब्यागेज ह्यान्ड्लिङमा काम पाएको एक हप्ता मात्र भएको थियो । जागिर पाँउदा उनी निकै हौसिएका थिए । एयरपोर्टको जागिर घन्टाको २६ डलर । तर, उनको त्यो खुसी एक हप्ता पनि टिकेन ।
कोभिडका कारण कम्पनीले कर्मचारी घटायो । उनी त्यहाँ क्याजुल काम गर्दै थिए । तर, विमान कम्पनीले उडान बन्द गरेपछि उनको जागिर पनि खोसिएको छ । तैपनि उनी हारेका छैैनन् । अहिले उनी सरसफाइको काम त गर्छन्, तर, उनको जागिर कहिले जाने हो, टुंगो छैन । सोनाक्षी र अनिस ६० हजार विद्यार्थीका प्रतिनिधि पात्र मात्र हुन् ।
उनीहरुजस्तै सयाै विद्यार्थी अस्टेलियामा बेरोजगार भएका छन् । त्यसो त यहाँका केही ठूला सुपरमार्केटले जागिरको अफर पनि नगरेका होइनन् । मागभन्दा बढी निवेदन परेपछि जागिरको सम्भावना पनि त्यति देखिँदैन । होटल, क्याफे तथा रेस्टुरेन्टमा काम गर्ने नेपाली विद्यार्थी त सबै बेरोजगार नै भएका छन् ।
जागिरमा टिकेकाहरु पनि कहिले जागिर जाने दिनगन्ति गरेर बसेका छन् । त्यहाँ मानिसको चहलपल छैन । कुनाकाप्चामा खुलेका क्याफेमा व्यापार नै हुँदैन । सरकारले विद्यार्थीलाई २० घन्टाभन्दा बढी काम गर्ने बाटो खुला गरे पनि बजारमा रोजगारदाता बढेका छैनन् । सिड्नी विश्वविद्यालयकी विद्यार्थी रिस्ता विश्वकर्मा भन्छिन्–अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने समय बढाउँदा केही राहत मिले पनि हामीलाई काममा केही भइहाल्यो भने इन्स्योरेन्स व्यवस्था नै छैन ।
कोभिडका कारण कलेज बन्द भएपछि घरवाटै अनलाइन अध्ययन गरिरहेका विद्यार्थीको माग छ–कम्तीमा कोभिड अवधिभर अन्तर्राष्ट्रिय विद्यार्थीलाई सामाजिक सुरक्षा तथा २० प्रतिशत कलेज शुल्क फिर्ताको व्यवस्था हुनुपर्छ ।
यहाँका ठूला कम्पनीको व्यापार बन्द हुँदा त्यहाँ काम गर्ने हजारौंको रोजीरोटी खोसिएको छ । विशेष गरी अस्थायी कामदारहरु चर्को मारमा परेका छन् कम्पनी बन्द भएपछि कामदारको संख्या घटाइएको छ भने कतिपय कम्पनीको ढोकामै ताल्चा लागेको छ । त्यही काम गरेर दैनिकी गुजारा गरिरहेका कामदार अहिले बाँच्नका लागि संघर्ष गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीको समस्यालाई लिएर नेपाली राजदूतावास क्यानवेराले कुटनीतिक पहल गरिरहेको छ भने अस्ट्रेलियामा रहेका नेपाली संघसस्थाको महासंघ फेन्का र अन्तर्राष्ट्रिय विद्यार्थी संगठन अस्ट्रेलिया र गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले विद्यार्थीलाई कोभिड–१९ संक्रमण अवधिभर विशेष सुविधाको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । यद्यपि, अहिलेसम्म अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सरकारले राहत प्याकेज भने घोषणा गरेको छैन ।
अहिले संकटका बेला नेपाली विद्यार्थीलाई दालचामल, बाँड्नु भन्दा पनि उनीहरुले सामाजिक सुरक्षाका लागि सरकारसँग लबिङ गर्नुु आवश्यक देखिन्छ ।