कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा १२ दिनदेखिको लकडाउन जारी छ । लकडाउनको समयमा सरकारले अत्यावश्यक काम र अप्ठ्यारो परेर बाहिर ननिस्की नहुनेका हकमा सवारी साधनका लागि पासको व्यवस्था गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर नजान आह्वान गरेको छ ।
सरकारी आह्वान अटेरी गर्दै मानिसहरू घरबाहिर निस्कने क्रम भने रोकिएको छैन । नेपाल प्रहरीको तथ्यांकअनुसार चैत ११ गतेयता शुक्रबारसम्म २१ हजार ८९६ जनाले लकडाउन उल्लंघन गरेका छन् । यहीबीचमा १७ हजार ४६८ सवारीसाधन पनि नियन्त्रणमा लिएर छाडिएको छ । प्रहरी प्रवक्ता उमेशराज जोशीका अनुसार नियन्त्रणमा लिइएका अधिकांश मानिसलाई सम्झाई बुझाई गरेर छाडिने गरिएको छ ।
‘कतिपयको हकमा भने पटकपटक सम्झाउँदा पनि अटेरी गरेको पाइएपछि आवश्यक जरीवाना पनि गरिएको छ,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘लकडाउन उल्लंघन नगरौँ, आत्मअनुशासन कायम गरौँ, जरुरी नै परेर बाहिर निस्कन परे प्रहरीको १०० नम्बरमा सम्पर्क गरौँ ।’
गृहमन्त्रालयले कडाइका साथ लकडाउन पालना गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । ‘लकडाउन नागरिक स्वयमका लागि हो, जति गर्दा पनि पार नलागेपछि कारबाही गर्नैपर्छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भन्छन्, ‘पहिलो पटक सम्झाउने, दोस्रो पटक जरिवाना गर्ने र अझै अटर गरे कैद नै गर्ने हो, यही काम अहिले भइरहेको छ ।’
बागमती प्रदेशका मात्रै १९ हजार ३७१ जनाले लकडाउन उल्लंघन गरेका छन् । यसमा पनि काठमाडौं उपत्यकाका १७ हजार ५७३ जना छन् । बागमती प्रदेशमा ५ हजार २०५ वटा सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीपछि छाडिएको छ ।
बागमती प्रदेशकै चितवन जिल्लाले भने लकडाउन उल्लंघन गरेको अभियोगमा तीन जनालाई कैद गरेको छ । संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद गर्न सक्ने अधिकारको प्रयोग गर्दै कैद गरिएको हो ।