कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरससँग लड्नको लागि बिभिन्न देशका वैज्ञानिकहरु दिन रात खटिरहेका छन् । कोरोना भाइरससँग सबै डराउनुपर्ने अवस्था छ । तर जर्मनीको बर्लिनमा आफ्नो शरीरको रोग प्रतिरोधी क्षमता बढाउने भन्दै आफैंलाई कोरोना भाइरसबाट संक्रमित बनाएका छन् । जर्मनीको बर्लिन सहरका मेयर स्टिफन भान डसेलले गत बुधबार एक अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेका हुन् ।
उनले भनेका छन्, ‘म कोरोना भाइरसबाट संक्रमित भएको थिएँ ।’ त्यसपछि प्रश्नकर्ताले निकै अचम्म मान्दै उनलाई संक्रमण कसरी हुनपुग्यो भनेर सोधे । त्यसपछि ती मेयरले जे जवाफ दिए, जवाफ सुनेपछि सबै चकित भए ।
उनले भने श्रीमतीलाई कोरोना भाइरस संक्रमण भयो तब आफूलाई पनि रोग सर्छ भन्ने उनलाई लाग्न थाल्यो । तर रोग कहिले सर्ने हो भनेर डराउँदै बस्नुभन्दा आफैंले आफैंलाई संक्रमित बनाएर रोगविरुद्धको प्रतिरोधी क्षमता बढाउनु ठीक होला भन्ने उनलाई लाग्यो । त्यसपछि उनी जानीजानी पत्नीसँग नजिकिए र आफूलाई कोरोना भाइरसबाट संक्रमित बनाए ।
तर कोरोना भाइरस संक्रमणपछिको अवस्थाचाहिँ दर्दनाक रहेको उनी बताउँछन् । बर्लिन मित्ते जिल्लाका मेयर भान डसेलले स्थानीय आरबीबी रेडियोसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मैले आफ्नो रोग प्रतिरोधी प्रणालीलाई मजबुत पार्नका लागि जानीजानी यो रोगबाट संक्रमित भएँ । मलाई पहिले त लाग्यो कि ३ दिनमै ठीक हुन्छु । तर रोग भन्ने कुरा जो कोहीको कल्पनाभन्दा परको कुरा हुन्छ । यो रोग यतिधेरै खतरनाक होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’
आफ्नो गल्ती महसुस गर्दै उनले भनेका छन्, ‘विश्वका सबै मेडिकल विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसका विषयमा दिएका सल्लाहहरू पालना गर्नुहोस् ।’
मेयरले कोरोनाविरुद्धको संघर्षमा जित हात पारे र पत्नीसहित नै निको भएका छन् । आफू अहिले स्वस्थ हुनुका साथै बढी जिम्मेवार पनि बनेको उनले बताएका छन् ।