अमेरिकामा कोरोनाका कारण एकै दिन १२ सयबढीको मृत्यु, मर्नेको संख्या साढे १० हजार नाघ्यो

अमेरिकामा लगातार पाचौं दिन पनि कोरोना भाइरसका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ । सोमबार एकैदिन अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण १ हजार २५५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ११ हजार नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड १९ का कारण १० हजार ८७१ जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । सोमबार त्यहाँ ३० हजार ३३१ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ ।



हालसम्म संक्रमितमध्ये १९ हजार ६७१ जना भने निको भइसकेका छन् । ३ लाख ३६ हजार ४६२ जनामा कोरोना भाइरस सक्रिय रहेको छ । तीमध्ये ८ हजार ७०२ को अवस्था गम्भीर रहेको जनाइएको छ । आइतबार पनि अमेरिकामा कोरोनाका कारण १ हजार १६५ जनाको मृत्यु भएको थियो भने २५ हजार ३१६ नयाँ संक्रमित भेटिएका थिए । शुक्रबारयता लगातार १ हजारबढीको मृत्यु भइरहेको छ ।

अमेरिकामा शनिबार एकै दिनमा अहिलेसम्मकै सर्वाधिक नयाँ संक्रमित ३४ हजार १९६ देखा परेका थिए । शनिबार एक दिनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि हालसम्मकै सर्वाधिक १ हजार ३३० थियो । यसैगरी शुक्रबार पनि अमेरिकामा कोरोनाका कारण एकै दिन १ हजार ३२० जनाले ज्यान गुमाएका थिए ।

अमेरिकामा सर्वाधिक संक्रमित तथा न्यूयोर्क राज्यमा देखिएको छ भने त्यसपछि न्यूजर्सीमा । न्यूयोर्कमा मात्रै हालसम्मा कोरोनाका कारण ४ हजार ७५८ जनाको मृत्यु भएको छ । न्यूजर्सीमा पनि मृतक संख्या १ हजार नाघेको छ ।

सम्बन्धित समाचार