अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपयुक्त काम गरेको बताउँदै आएका छन् । उनले मंगलबारको कोरोना टास्क फोर्सको ब्रिफिङ्गको क्रममा महामारीले अहिलेको रुप लिनुमा विश्व स्वास्थ्य संगठनको कमजोरी कारक रहेको आरोप लगाए ।
तर ट्रम्पले आफू र आफ्नो प्रशासनलाई जति नै राम्रो भने पनि उनको आलोचना गर्नेहरु धेरै छन् । ट्रम्पका कट्टर आलोचकमा पर्छन् अमेरिकी अर्थाशास्त्री तथा सार्वजनिक नीति विश्लेषक जेफरी डेविड साक्स । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक समेत रहेका साक्सले हालै ट्रम्पले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा नलिएको र यसविरुद्धको प्रयास फितलो भएको बताएका छन् । उनले ट्रम्प अमेरिकाको इतिहासमै सबै भन्दा असक्षम राष्ट्रपति रहेको बताउँदै आएका छन् ।
महामारीमा उनको प्रशासनले गरेको कामले त्यसलाई थप प्रमाणित गरेको उनले बताएका छन् । केही दिनअघि डेमोक्रेसी नावलाई दिएको प्रक्रियाको क्रममा उनले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिनु निकै डरलाग्दो रहेको बताए । तर त्यो भन्दा भयानक र डरलाग्दो परिस्थितिको गाम्भीर्य केही नबुझ्ने र केही नसुन्ने तथा परिस्थितिको मूल्यांकन गर्न नसक्ने राष्ट्रपति हुनु रहेको बताए । ट्रम्पले अमेरिकी नागरिकलाई खतरामा पारेको बताएका छन्।
उनले भनेका छन्, ‘यो देशका सबै मेयर तथा गभर्नरहरु संघीय सरकारको कुनै सहयोग बिना यो महामारीविरुद्धको लडाईँमा अग्रमोर्चामा छन्।’ नागरिकको ज्यान जोगाउनु कुनै पनि सरकारको पहिलो प्राथमिकता हुनु पर्छ । तर विज्ञहरु भए पनि उनीहरुलाई नसुन्ने र व्यक्तिगत रुपमा पनि असक्षम व्यक्तिको नेतृत्वमा देश हुँदा समस्या भएको उनले बताएका छन् ।
अमेरिकामा मंगलबार एकै दिन १९ सय २४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार ७९५ पुगेको छ ।