अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विहीबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् । उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै शुरु हुनेछ ।
ब्रिफिङको क्रममा उपस्थित रहेका उप–राष्ट्रपति माइक पेन्सले अमेरिकाले हरेक दिन एक लाख अमेरिकीमाथि परीक्षण गरिरहेको जानकारी दिए । र प्रशासनले उक्त परीक्षणको संख्या बढाउन प्रयास गरिरहेको पनि उनले बताए । उनले यूएसएनएस कम्फर्ट (जहाज अस्पताल) बारे पनि जानकारी दिँदै उक्त जहाजका कारण अस्पतालको अतिरिक्त बोझ हटेको उल्लेख गरे ।
ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका डा। एन्थोनी फाउचीले अमेरिकामा मृत्युदर लगातार बढिरहेको भएपनि सामाजिक दुरीजस्ता प्रतिबन्धको सकारात्मक असर अमेरिकामा परिरहेको बताएका छन् ।