कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित देश हो विश्वकै महाशक्ति अमेरिका । अमेरिकामा दैनिक औसत २ हजारको संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । विश्वभर १८ लाख ५४ हजार संक्रमित हुँदा अमेरिकामा मात्र पाँच लाख ६० हजारभन्दा बढी मानिस संक्रमित छन् । त्यहाँ २२ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
अमेरिकामा पनि न्यूयोर्क सबैभन्दा बढी प्रभावित छ । विश्वका अन्य देशभन्दा न्यूयोर्कमा बढी संक्रमित छन् । न्यूयोर्कमा मात्र करिब एक लाख ९० हजार संक्रमित छन् भने तीमध्ये ९ हजार ३ सय ८५ जनाको ज्यान गइसकेको छ । न्यूयोर्कमा कोरोना भाइरसको बढी असर देखिनुका तीनवटा कारण औँल्याइएको छ- गरिबी, पर्यटन र बाक्लो जनघनत्व ।
न्यूयोर्कमा ८ करोड ६० लाख मानिस बस्छन् अर्थात एक बर्ग किलोमिटर क्षेत्रफलमा १० हजार मानिसको बसोबास छ । अमेरिकाकै सबैभन्दा बढी जनघनत्व भएको शहर हो न्यूयोर्क । न्यूयोर्कमा फराकिलो सामाजिक दूरी कायम राख्न त्यति सजिलो हुँदैन ।
न्यूयोर्कमा वार्षिक ६ करोड पर्यटक आउँछन् । धेरे पर्यटकका लागि यो अमेरिका प्रवेश गर्ने उदगम विन्दु पनि हो । त्यसैले अमेरिकाका अन्य ठाउँमा फैलने सरुवा रोग पनि न्यूयोर्कबाट सुरु हुने अनुमान गर्न सकिन्छ । युरोपबाट फेब्रुअरीमा आएकाले न्यूयोर्कमा कोरोना भाइरस भित्र्याएको र मार्च १ तारिखमा पहिलो संक्रमण देखा परेको बताइन्छ ।
न्यूयोर्कको ब्रोङ्स र क्वीन्समा मानिसहरु गरिब छन् । उनीहरुमा धेरै स्वास्थ्य समस्या देखिन्छ भने आवश्यक स्वास्थ्य सेवाबाट पनि बन्चित छन् । न्यूयोर्कको यी ठाउँमा कोरोना भाइरसको प्रभाव बढी छ ।
विश्वको कुल जनसंख्याको ४.२५ प्रतिशत हिस्सा अमेरिकामा बस्छ । कोरोनाबाट मृत्यु हुनेमा २० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकाको छ । विश्वका अन्य देशमा कोरोना भाइरसले मृत्युदर ३.४ प्रतिशत रहँदा न्यूयोर्कमा ४.७ प्रतिशत रहेको छ ।