कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्याउन नपाई घरमै मृत्यु भएको खुलेको छ । मार्च ११ देखि अप्रिल १३ सम्मको अवधिमा ३ हजार ७७८ जनाको अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु भएको न्यूयोर्क सिटिले जनाएको छ ।
यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् । न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ । मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४८ हजार ६७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।