नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरूमा राहत सामाग्री वितरण गरेको छ । बैंकले सल्यानको त्रिवेणी गाउँपालिका, लुहाममा राहत सामाग्री सहयोग गरेको छ । उक्त राहत सामाग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मानबहादुर डाँगीलाई हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामाग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनील रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष केसी र शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए ।
साथै, बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –५ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका वीरेन्द्रनगर शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख राजबहादुर गुरूङ्गलाई हस्तान्तरण गरेका हुन् ।
राहत बाँडेने क्रममा बैंकले काठमाडौंको टोखा नगरपालिका– ६, धापासीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले टोखा नगरपालिका– ६, का वडा प्रमुख महेश्वर केसीलाई हस्तान्तरण गरेका थिए ।
बैंकले सहयोग गरेको राहत सामाग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुनलगायतका सामाग्री रहेको छ । बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरूङ्गले बताएको कुरा विज्ञप्तिमा उल्लेख छ ।