अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी चीनले ‘जानेरै’ फैलाएको भए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका छन्।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोसर्टको शनिबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनले गरेको प्रयास पर्याप्त नरहेको भन्दै आलोचना गरे । सोही क्रममा उनले यदी चीनले जानेरै महामारी नियन्त्रणका लागि प्रयास नगरेको देखिएमा त्यसको परिणाम अति नराम्रो हुने चेतावनी दिएका हुन् ।
ब्रिफिङ्गको क्रममा ट्रम्पले भने, ‘यो महामारी चीनमै रोक्न सकिने थियो सुरु हुनु पूर्व नै तर त्यसो भएन । त्यहि कारण पूरै विश्व अहिले समस्यामा छ ।’
कोरोना भाइरसको विश्वव्यापी महामारीको यो समयमा यसबाट विश्वलाई नै जोगाउनका लागि सबै पक्षको एकता र सहकार्यको खाँचो रहेका बेला विश्वका दुई ठूला राष्ट्रबिच विवाद बढ्दै गएको छ । सोही क्रममा ट्रम्पले पछिल्लो पटक यस्तो चेतावनी दिएका हुन् ।
ट्रम्पले भनेका छन्, ‘यदी यो गल्ती हो भने, केही छैन गल्तीलाई त्यहि रुपमा बुझ्नु पर्छ । तर यो महामारीका लागि चीन थाहा पाएरै जिम्मेवार रहेछ भने त्यसको परिणाम गम्भीर हुनेछ ।’
यसअघि ट्रम्पका उच्च सहयोगीले वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यसलाई लिएर चीन पारदर्शी नभएको बताएका थिए । यस्तै ट्रम्पले गएको हप्ता चीनको पक्ष लिएको भन्दै विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग रोक्न निर्देशन दिएका थिए ।