मनाेजराज रेग्मी
काठमाडौं, बैशाख ८ ।
कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ हजार ८८७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ६ हजार ९०५ पुगेको छ ।
एकैदिन संक्रमित र मृत्यु हुनेको धेरै संख्या अमेरिकाकै छ । अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ५२ हजार ११७ जनामध्ये १३ हजार ५६६ को अवस्था गम्भीर रहेको छ ।
विश्वव्यापी महामारीबाट नेपाल पनि अछुतो बन्न सकेको छैन । नेपालमा पनि हालसम्म ३१ जना कोरोना संक्रमित देखिएका छन् भने चारजना ठीक भएर घर फर्केका छन् । नेपाल चीनसँग सीमाना जोडिएको र कोरोना संक्रमण चीनमा उच्च हुँदा पनि चिनीयाँहरू नेपालमा खुल्लमखुल्ला घुमिरहँदा पनि नेपालमा कोरोना संक्रमण नहुनुलाई विज्ञहरू आश्चर्यजनक भएको मान्दछन् । यसमा उनीहरू केही कारणहरू औंल्याएका छन्; जस्तो कि नेपालीहरू सबैले जन्मने बित्तिकै बीसीजी खोप लगाउनु, हात धुँदा पानीको बढी प्रयोग गर्नु, रोग प्रतिरोधात्मक क्षमता बढी हुनु, नेपालीहरूको खानपान शैली फरक हुनु, विदेशमा जस्तो भीडभाडपूर्ण अण्डरग्राउण्ड मेट्रो नहुनु आदि हुन सक्छ । जे होस् नेपालमा कोरोना संक्रमण नफैलनु राम्रो हो । कसैकसैले यसलाई पशुपतिनाथको आशीर्वाद पनि मानेका छन् ।
नेपालमा कोरोना संक्रमण त्यति नफैलिए पनि यो उच्च जोखिमबाट भने मुक्त छैन । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण र संक्रमणबाट मर्ने व्यक्तिहरूको संख्या दिनानुदिन तीव्र गतिमा बढिरहेको छ । सीमा क्षेत्रमा व्यक्तिहरूको आवागमन अझै रोकिएको छैन ।
अब के गर्ने ?
अलपत्र परेका श्रमिकहरूलाई सहयोग गर्नुपर्ने
देशमा अहिले लकडाउनको स्थिति छ तर पनि संक्रमित व्यक्तिहरूको संख्या बढिरहेको छ । डलुएचओका अनुसार लकडाउन संक्रमण रोक्ने उपाय भए पनि अन्तिम राम वाण भने होइन । लकडाउनका साथै अन्य उपायहरू पनि अपनाउनुपर्ने हुन्छ । लकडाउनकै समयमा पनि उपत्यकामा अलपत्र परेका र दैनिक मजदुरी गरी खाने व्यक्तिहरू भविष्यको अन्यौलताको कारण वा भोकै मरिने डरले उपत्यका छोडेर हिंडेर आफ्नो गाउँतर्फ लाग्न थालेका छन् । उता प्रहरीले उनीहरूलाई बीचमै रोकेर झन् अलपत्र पारेका छन् । त्यस्ता व्यक्तिहरूलाई नेपाल सरकारले कि त काठमाडौंमै राहत उपलब्ध गराएर काठमाडौंमै बस्न विश्वस्त पार्न सक्नुपर्दछ अथवा उपयुक्त सवारी साधनको व्यवस्था गरेर उनीहरूलाई आफ्नो गन्तव्यसम्म पु-याउन सहजीकरण गरिदिनुपर्दछ ।
सीमा नाका र एयरपोर्ट कम्तीमा तीन महिना बन्द गर्नुपर्ने
कोरोना संक्रमणको महामारीले पुरै विश्व त्रस्त छ र यो चाँडो थामिने कुनै संकेत देखा परेको छैन । यस्तो अवस्थामा नेपालको भविष्यको रणनीति कस्तो हुनुपर्ने त्यो पनि प्रष्ट हुनुपर्ने जरूरी छ । डब्लुएचओले हतारमा लकडाउनको अन्त्य नगर्न चेतावनी दिएको छ । कोभिड– १९ को अहिलेसम्म कुनै पनि खोपको विकास नभैसकेको र कुनै पनि ठोस औषधि पनि पत्ता नलागिसकेकोले सोशल डिस्टेन्सिङ र संक्रमण हुनै नदिनु यसबाट बच्ने सर्वोत्तम उपाय हो । लकडाउनले देशको अर्थव्यवस्था धराशायी बनाएको छ तर यसको विकल्प पनि छैन । हतारमा लकडाउन अन्त्य गर्दा यसबाट कस्तो अवस्था आउँछ त्यसको हामीले कल्पना पनि गर्न सक्दैनौं । हाल नेपालमा यहाँ आफै कोरोना नफैलिएकोले यसको संक्रमण विदेशबाट र विदेशबाट आएकाहरूबाट मात्र भएको देखिएको छ । त्यसकारण यसबाट बच्न केही समय कम्तीमा पनि तीन महिनासम्म सीमा आवागमन पूर्णतया बन्द गर्ने र एयरपोर्ट पनि तीन महिनासम्म बन्द गर्नुपर्दछ । तीन महिनापछि परिस्थितिको मूल्याकंन गरी विस्तारै एयरपोर्ट र सीमा नाका खोल्न सकिन्छ ।
प्रभावित क्षेत्रमा मात्र लकडाउन गर्ने
नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमित देखिएको छ भने ४ जना निको भएर घर फर्केका छन् । युरोप वा अमेरिका जस्तो कुनै मानिसको कोरोनाका कारण मृत्यु भने भएको छैन । लकडाउन गरेर मात्र कोरोना संक्रमण नियन्त्रण हुन्छ भन्ने कुनै निश्चित छैन । यदि त्यसो हुँदो हो त इटाली र स्पेनमा कोरोना संक्रमितको संख्या दिनानुदिन नबढ्न पर्ने हो । ती मुलुकहरूमा लकडाउन गरिएको छ । कोरियामा लकडाउन गरिएन, त्यस्तै सिंगापुर र हङकङमा पनि लकडाउन गरिएन तर पनि ती राष्ट्रहरूले कोरोना संक्रमणलाई नियन्त्रण गरे । उनीहरूले कोरोना संक्रमणको शंका लाग्ने बित्तिकै हजारौंमा कोरोना भाइरसको नमूना परीक्षण गरे जसले गर्दा संक्रमित पहिचान गर्न सजिलो भयो । नेपालमा पनि स्थिति त्यति विकराल नभएकोले प्रभावित क्षेत्रमा मात्रै लकडाउन गरी अन्य संक्रमण नदेखिएका जिल्लामा लकडाउन खोल्न सकिन्छ । पहिलो चरणमा लामा दूरीका यातायात नखोल्ने, जिल्ला भित्रका शैक्षिक संस्था, व्यवसाय, औद्योगिक क्षेत्र खोल्ने गर्न सकिन्छ । यसो गर्दा काम पनि चल्ने र बाहिरका मानिस नआएपछि संक्रमणको डर पनि रहदैंन । लकडाउन धेरै समयसम्म गर्दा नेपालको अर्थतन्त्रले धान्न सक्दैन र अर्थव्यवस्था पूर्णरूपमा धराशायी हुने सम्भावना हुन्छ ।
नमूना परीक्षण जतिसक्दो धेरै गर्ने
अप्रिल ८ सम्ममा दक्षिण कोरियामा ४,६६,८०४ टेस्ट भएको थियो भने जर्मनीले अप्रिल १५ सम्म १७,२८,३५७ जनामा टेस्ट गरेको छ । त्यस्तै सिंगापुरले १७ अप्रिलसम्ममा ४७,४८६ टेस्ट गरेको थियो । अमेरिकाले १६ अप्रिलसम्म ३४,३१,२१५ गरेको थियो भने नेपालले ३३,५६२ टेस्ट गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हामीले यो टेस्टको दायरालाई निकै बढाउनुपर्दछ । यो परीक्षण गरेर सम्भावित संक्रमित व्यक्तिको पहिचान गरेर संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरे संक्रमणलाई निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ । दक्षिण कोरिया, ताइवान, हङकङ र सिंगापुरले बढी भन्दा बढी परीक्षण गरेर कोरोना संक्रमणमाथि नियन्त्रण गर्न समर्थ भएका थिए । हाल नेपालमा ¥यापिड टेस्ट र पीसीआर पद्धतिबाट कोरोना परीक्षण गरिन्छ । ¥यापिड टेस्टबाट केही घण्टामै परीक्षण गर्न सकिन्छ भने पीसीआर पद्धतिबाट परीक्षण गर्न ७२ घण्टा लाग्दछ । -यापिड टेस्टमा नेगेटिभ आएकाहरूको पीसीआर पद्धतिमा पोजिटिभ आएकोले सकभर पीसीआर पद्धतिलाई नै प्राथमिकता दिनुपर्ने देखिन्छ ।
भारतसँगको सीमामा थप कडाई गर्नुपर्ने
विगत केही दिनदेखि विद्युतीय संचारमाध्यमले छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणमा व्यापक वृद्धि भएको देखाइरहेका छन् । विशाल जनसंख्या भएको भारतमा यसरी कोरोना संक्रमण बढ्नु नेपालका लागि पनि राम्रो होइन ।
दुई मुलुकबीच खुला सिमानाका कारण सिमाना बन्द गर्दा पनि लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । नेपाल र भारतबीच सदियौंदेखि ‘रोटी र बेटी’को सम्बन्ध रहिआएको छ । पारिवारिक सम्बन्ध सीमावारपार जोडिएका यी दुई देशबीच सीमाबाट आवतजावत रोक्नु सहज काम पक्कै होइन । त्यसमाथि नेपाल भारत सीमामा लुकिछिपी भन्सार छलेर सामान ओहोरदोहोर गराउनेहरू पहिलेदेखि नै सक्रिय छन् । तिनैहरू अहिले मानव ओसारपरासमा सक्रिय नहोलान् भन्न पनि सकिन्न ।
धेरै जनसंख्या भएका कारण त्यहाँ केन्द्रीय र प्रादेशिक सरकारको निर्देशन समेत नागरिकले अवज्ञा गरिरहेका छन् । विशेष गरी भारतमा मुस्लिम समुदायबाट लकडाउनको धेरै अवज्ञा भएको देखिन्छ । जसका कारण नेपाल पनि ढुक्क भएर बस्ने अवस्था छैन ।
पछिल्लो समय उदयपुरमा संक्रमण देखिएको पनि भारतीय नै भएकोले सीमामा थप कडाई गर्नुपर्ने देखिन्छ । त्यसैगरी वीरगंजको छपकैयामा भेटिएका तीनजना संक्रमित पनि भारतीय नै भएको पाइएको छ । भारतमा तबलीगी जमातले निकै दुःख दिइरहेका छन् र त्यससँग सम्बन्धित व्यक्तिहरू भारतबाट भागेर नेपाल पनि आउन सक्छन् । भारतका मिडियाहरूले त तबलीगी जमातलाई संक्रमण फैलाउनमा प्रमुख जिम्मेवार भएको बताएको छन् । त्यसकारण मालवाहक गाडीहरूबाहेक व्यक्तिहरूको आउजाउलाई कडा रूपमा प्रतिबन्ध लगाउनुपर्दछ ।