चीनले कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अझै पनि वास्तविक भन्दा कम बताउने गरेको भन्दै अमेरिका तथा युरोपका सुरक्षा अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
चीनले पछिल्लो समय कोभिड १९ बाट निधन हुनेको संख्या दैनिक रुपमा अति कम रहेको आधिकारिक तथ्यांक सार्वजनिक गर्ने गरेको छ । तर लण्डन तथा वासिंगटनका सुरक्षा अधिकारीले भने सो तथ्यांक वास्ताविक भन्दा कम रहेको आशंका गरेका छन् ।
चीनको सूचना प्रणाली पारदर्शी नरहेको भन्दै सुरक्षा अधिकारीले चिन्ता जताएका हुन् । तर चीनले भने आफू जहिले पनि पारदर्शी रहेको र कोरोना भाइरसको महामारीका सम्बन्धमा थप सतर्कता अपनाएको भन्दै कुनै पनि किसिमको ढाकछोप नगरीएको बताउँदै आएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएका सबै प्रयास आफूले पारदर्शी बनाएको दाबी चीनको छ ।
तर अप्रिल १७ मा कोरोना भाइरसको उद्गम थलो तथा चीनमा सबै भन्दा बढी प्रभावित भएको वुहान शहरमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या अध्यावधिक गरिएको थियो । तथ्यांक अध्यावधिक गर्दा सो दिन मृत्यु हुनेको संख्यामा १२ सय ९० थपिएका थिए । अर्थात वुहानमा मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढाइएको थियो ।
चीनले सो अपडेटले पारदर्शीतालाई स्पष्ट पारेको र अस्पताल बाहिर भएका मृत्युलाई पनि समावेश गर्दा संख्या बढेको बताएको थियो र सोही बताउँदै आएको छ ।
लण्डन तथा वासिंगटनका धेरै अधिकारीले भने अझै पनि कोरोना भाइरसका कारण चीनमा भएको मानवीय क्षतिको सही चित्र वा तथ्यांक नआएको विश्वास गर्छन् । चीनमा भएको क्षति त्यहाँको केन्द्र सरकारलाई मात्रै जानकारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या कम रिपोर्ट गर्ने चक्र स्थानीय स्तरबाटै सुरु भएर केन्द्रसम्म पुगेकाले समस्या भएको युरोप तथा अमेरिकाका गुप्तचर अधिकारीले भनाई छ । चीनमा प्रभावितको वास्तविक संख्या अहिले भनिए भन्दा धेरै रहेको यकिन भए पनि त्यो कति वा कुन स्तरमा छ भन्ने थाहा पाउन अति मुश्किल हुने उनीहरुको भनाई रहेको बिबिसीले उल्लेख गरेको छ ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न विश्वका अधिकांश देशले त्यति चाँडो सकेका छैनन् । तर चीनको अवस्था भने फरक छ, उसले लगभग तीन महिनाको अवधिका लगभग संक्रमण नियन्त्रणमा लिएको छ र मृत्यु हुनेको कुल संख्या पनि कम रहेको छ । यसले आशंका बढाएको हो । चीनमा अहिलेसम्म कोभिड १९ बाट ४६ सय ३६ जनाको ज्यान गएको सरकारी तथ्यांक छ ।
तर विश्वभरमा भने अहिलेसम्म एक लाख ९० हजार ८५८ जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी प्रवित भएको अमेरिकामा ४९ हजार ९५४ जनाको ज्यान गएको पुष्टि भइसकेको छ।