
आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले तत्काल मौसम सफा हुने सम्भवना नरहेको मौसमविद विभुति पोख्रेलले जानकारी दिइन् ।
आज बिहानैदेखि देशका केही स्थानमा पानी पर्न थालेको पोख्रेलले बताइन् । आज दिउँसो र राति पनि देशभरको मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १३ दशमलब ४ डिग्री सेल्सियस मापन भएकोमा दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
