मन्‍त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै

लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार साँझ मन्‍त्रिपरिषद्‌को बैठक बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण साँझ ५ बजेलाई सारिएको छ ।

‘यसअघि २ बजे बस्ने भनिएको बैठक ५ बजेका लागि सरेको सूचना आएको छ’, एक मन्त्रीले भने । बैठकमो एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल हुनेछ ।



सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन सोमबार अर्थात् वैशाख १५ गते सकिँदैछ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्‍न सुझाव दिइसकेको छ । स्वास्थ्य मन्‍त्रालयलेसमेत एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो ।

लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञले समितिलाई दिएका छन् । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो ।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्‍ने निष्कर्षमा उच्चस्तरीय समिति पुगेको छ ।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि संक्रमितको संख्या ५१ पुगेको छ । १२ जना भने निको भएका छन्। अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

सम्बन्धित समाचार