स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ४ सय ६१ पुगेको जानकारी दिएको छ । पिसिआरबाट १२ हजार ५ सय ७७ जनाको कुल परीक्षण भएको हो भने र्यापिड टेस्टबाट ४७ हजार ७ सय ९७ जनाको परीक्षण भएको हो । योसँगै कोरोना भाइरसको कुल परीक्षण ६० हजार ३ सय ७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । यस्तै हाल देशभर २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ ।
आइसोलेसनमा भने कुल ९४ जना रहेको जसमा उपत्यकाभित्र ५ जना र उपत्यका बाहिर ८९ जना रहेको उनले जानकारी दिए । यस्तै उनले रेडजोनमा देशभर ३ सय १५ जना रहेको बताए, जसमा गत चौबीस घन्टामा ३ जना रेड जोनमा परेका हुन् ।