कामना सेवाद्वारा विभिन्न ठाउँमा राहत वितरण

कोरोना भाइरस महामारीको रूपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको र त्यसबाट सृजित परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम, बुटलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरूलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत स्वरूप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरू प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खाद्य सामग्रीहरू बैंकका सञ्चालक भीमप्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भूषालले संयुक्त रूपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरू अधिकारी र सह–संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए । संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोगप्रति धन्यवाद दिंदै अन्य संघ संस्थाहरूले समेत सहयोगका हात अगाडि बढाउने आशा गरेको बताइन् ।



यसै गरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्युन आय भएका व्यक्तिहरूलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनीहरूलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापामार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसै गरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंं. ७ लाई रू ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरिएको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

यसै गरी बैंकले कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौलीस्थित आगलागीबाट पीडित २५ घर परिवारलाई राहत स्वरूप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भीषण आगलागीबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकुँडासहित सम्पूर्ण सामानहरू नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भूषालले राहत सामग्री वितरण गरेका थिए ।

साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरूलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरू खुवाउने पवित्र कार्य पनि गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरिप्रसाद लम्साललगायत अन्य कर्मचारीहरूको उपस्थितिमा फलफूल तथा खाद्य सामाग्रीहरू वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरूलाई खाना खुवाउने निर्णय गरेको पनि विज्ञप्तिमा उल्ल्ेख छ ।

सम्बन्धित समाचार