नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।
देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछ, कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
२० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरूको आफ्नो तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू सातै प्रदेशका असहाय वृद्ध–वृद्धा, महिला तथा अनाथ बालबालिकालाई सहयोग स्वरूप प्रदान गरिएको छ ।
उपरोक्त सहयोगमध्ये प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरिएको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न, अत्यावश्य वस्तुहरू, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरिएका छ ।
यसैक्रममा बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेशभित्र रहेको विभिन्न अनाथाश्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरू प्रदान गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरूले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ ।
२० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाद्वारा बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकायलगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरूलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरियो भने यस अवसरमा सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरूले बीमा क्षेत्रमा नेपाल लाइफको माध्यमबाट पु-याएको योगदानको उच्च कदर गर्दै सबैलाई धन्यवाद दिनुका साथै बधाई ज्ञापन गरिएको पनि विज्ञप्तिमा उल्र्लेख छ ।
हाल कोरोना भाइरसका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन पनि प्रमुख कार्यकारी अधिकृत भलाले आग्रह गरे । साथै उनले– रातपछि सधैं नयाँ बिहानी आउने हुनाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ एकजुट भई अगाडि बढेमा विजय प्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनु पर्ने विचार राखे ।
सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गर्दै अहिलेको विषम परिस्थितिमा सबैको सु–स्वास्थ्य र सुरक्षाको कामना पनि गरे ।