विराटनगरस्थित जोगवनी भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट मंगलबार दिउँसो एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका उपरीक्षक नेत्र कार्कीले बताएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला, सिलिगढी गंगानगर-५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै बिहारको महजपुर जिल्ला, रौतिमिया वडा नं १२ का १८ वर्षीय पप्पु कुमार छन् । नाकामा भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बोराभित्र राखेको उक्त रकम भेटिएको हो । खाली गाडीमा गुट्खाको र्यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा उक्त रकम बरामद भएको हो ।
सामान नलिइ आएको उक्त ट्रक भारतीय पक्षले चेकजाँच नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा जाँच गर्दा बोराभित्र राखेको उक्त रकम बरामद भएको कार्कीले बताएका छन्। उक्त रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने बताइएको छ ।