विवादास्पद अध्यादेश स्थायी कमिटी बैठको एजेण्डा बनाउन ओलीमाथि दवाव, प्रचण्डसँग फेरि बढ्यो दुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि विहीबार बस्दैछ । विवादास्पद अध्यादेशपछि पार्टीभित्र चर्किएको विवादका बीच बस्न लागेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट फिर्ता बोलाउनेसम्मको निर्णय गर्नसक्ने अड्कल काटिएको छ । वैशाख २० मा बसेको स्थायी कमिटी बैठकमा ओली प्रचण्डबीच सहमतिमा अगाडि बढ्ने सहमति भएपछि पछिल्ला भेटघाट र विषयगत कुराकानीमा दुबै अध्यक्षबीच दुरी बढेकाे समाचारहरू बाहिरिरहेका छन् ।

प्रचण्डले ओली र वरिष्ठ नेता माधव नेपालसँग बारम्बार परामर्श गरिरहेका छन् । नेता नेपालले भने पार्टीभित्र एक व्यक्ति एक पदको नियम लागु हुनुपर्ने बताउँदै आएका छन् र ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने दबाब दिंदै आएका छन् । साथै नेपालले सार्वजनिक रूपमै दुई अध्यक्षबीचको चोचोमोचोले पार्टी अगाडि बढ्न नसक्ने भन्दै त्यस्तो चोचोमोचो स्वीकार्य नहुँने बताउँदै आएका छन् ।



भोलि बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डाको बारेमा अध्यक्षद्वयबीच मंगलबार कुराकानी भएको थियो । ओली बैठकमा अध्यादेश प्रकरणलाई एजेण्डाको रूपमा प्रस्तुत नगर्ने तयारीमा छन् । तर प्रचण्डले भने सो एजेण्डा बैठकमा प्रस्तुत गर्नुपर्ने अडानमा छन् । यता नेता नेपालले पनि अध्यादेश प्रकरण र सरकारका कामकारवाही बैठकको एजेण्डा बन्नुपर्ने अडानमा छन् । यसअघि स्थायी कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका ओलीइत्तरका २० स्थायी कमिटीका नेताहरू बैठकमै ओलीको राजीनामा माग्ने तयारीमा रहेको स्रोतको दाबी छ ।

वामदेव गौतमको साथ पाएपछि सचिवालयमा बहुमत पुर्याएका ओलीलाई स्थायी कमिटीका नेताहरूको सामना गर्न हम्मे हम्मे पर्ने देखिएको छ । प्रचण्ड नरम भए पनि उनी समर्थित केही नेता र माधव नेपाल पक्षधर नेताहरू मिल्दा स्थायी कमिटीका बहुमत सदस्य ओलीको विपक्षमा देखिएका छन् । नेता नेपालले ओलीलाई पेल्ने रणनीति लिएमा बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने हदसम्म बैठक अगाडि बढ्ने सम्भावना देखिएको छ ।

यता ओलीसँग पछिल्ला दिनहरूमा विभिन्न विषयमा विवाद पैदा भैरहेकोले प्रचण्ड पनि नेपाललाई साथ लिएर ओलीविरूद्ध प्रस्तुत हुने सम्भावन पनि उत्तिकै छ । हिजोको भेटमा पनि प्रचण्डले ओलीलाई स्थायी कमिटीको सामना गर्नुको विकल्प नभएको बताएका थिए । स्थायी कमिटीका नेताहरूलाई कन्विन्स गराएमा प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहँदा आफूलाई कुनै आपत्ति नरहेको प्रचण्डले ओलीलाई बताएका थिए ।

झलनाथलाई फकाउने ओलीको असफल प्रयास
स्थायी कमिटीले अप्ठ्यारोमा पार्न सक्ने बुझेका ओलीले नेता झलनाथ खनाललाई पनि फकाउने प्रयास गरेका थिए । मंगलबार बिहान बालुवाटारमै बोलाएर उनले झलनाथसँग पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर झण्डै २ घण्टा परामर्श लिएका थिए । भेटमा ओलीले स्थायी कमिटीका बहुमत सदस्यले राजीनामा माग्ने तयारी गरेको भन्दै सघाउन खनाललाई आग्रह गरेको स्रोतको दाबी छ ।

नेता खनालले पार्टीलाई विधिसम्मत अगाडि बढाउनुपर्ने भएकोले पार्टी कमिटीका निर्णय मान्नुको विकल्प नहुने जवाफ फर्काएका थिए । अध्यादेश फिर्ता भैसकेको अवस्थामा त्यसलाई बैठकको एजेण्डा नबनाउन नेता नेपाललाई सम्झाउन गरेको ओलीको आग्रहलाई पनि खनालले अस्वीकार गरेको बताइन्छ । पार्टीभित्र यति ठूलो विवाद सिर्जना गराएकोले अध्यादेश प्रकरणमा आफ्नो धारणा पार्टीका हरेक कमिटीका सदस्यको सुन्नुपर्ने खनालको भनाई थियो ।

बजारमा जे हल्ला छ
त्यसो त प्रचण्ड नेपाल गठबन्धन फुटेको हल्ला गरिए पनि वास्तविकता अर्कै रहेको राजनीतिक विश्लेषकहरूको विश्लेषण रहेको छ । ओली स्थायी कमिटी बैठक बोलाउन तयार नभएपछि प्रचण्ड उनीसँग मिलेको नाटक गरेर स्थायी कमिटी बैठक बोलाउन सफल भएको चर्चा छ । स्थायी कमिटी बैठकमा आ–आफ्नै ढंगबाट प्रस्तुत भएर ओलीको राजीनामा माग्ने एजेण्डामा एक भएर मत प्रकट गर्ने रणनीति प्रचण्ड नेपाल गठबन्धनको रहेको बताइन्छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र नेकपाका ओलीइत्तरका स्थायी कमिटीका सदस्यहरूको तयारी हेर्दा ओलीले सरकार या अध्यक्षमध्ये एक पदबाट भने राजीनामा दिनैपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।

सम्बन्धित समाचार