सरकारले भारतमा रहेका नेपालीलाई अहिलेको अवस्थामा देशभित्र ल्याउन नसकिने जनाएको छ । भारतमा कोराना संक्रमितको संख्या दिन–दिनै बढ्दै गएकाले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउँदा यहाँको अवस्था भयाभह हुने सक्ने भन्दै सरकार नल्याउने निष्कर्षमा पुगेको हो ।
भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा चाहिने पर्याप्त क्वारेन्टाइन नेपालमा नभएकाले उनीहरुलाई सीमा पार गराउनु नै जोखिमपूर्ण हुने गृहसचिव महेश्वर न्यौपानेले बताए । मंगलबार संसदको कानून न्याय तथा मानव अधिकार समितिलाई कोभिड–१९ को रोकथामका लागि भएका प्रयासबारे जानकारी गराउँदै भारतमा रहेका नेपालीलाई अहिले नल्याउने प्रष्ट पारे ।
उनले भने, ‘अहिलको अवस्थामा भारतमा रहेका नेपालीलाई स्वदेशमा ल्याउन सकिँदैन। हामीसँग पर्याप्त मात्रमा क्वारेन्टाइन छैन। ल्याइएको खण्डमा अवस्था यहाँ पनि नाजुक हुन सक्छ ।’ सरकारले भारतबाट नेपालमा हुने प्रवेशलाई थप कडाइ गर्ने भएको छ । सीमा सुरक्षाका लागि पाँच सयवटा बिओपी खडा गर्ने र थप सुरक्षाकर्मी सीमा क्षेत्रमा पठाइ सीमा वारपार हुनै नदिने नीति लिएको छ ।
तर सर्वोच्च अदालतले भने यसअघि नै स्वदेश फर्किन चाहने नागरिकलाई सुरक्षित तरिकाले ल्याउन सरकारलाई अन्तमरिम आदेश दिएको थियो । परराष्ट्र मन्त्रालयले भने वैदेशि रोजगारीमा गएका नेपालीहरुलाई फिर्ता ल्याउने तयारी भइरहेको जनाएको छ।
न्यौपानेका अनुसार दुई देशबिच एक अर्काका नागरिक जहाँ जस्तो अवस्थामा छन् उनीहरुलाई त्यहीँ सुरक्षित तरिका राख्ने सहमति समेत भएको जानकारी दिए । समझदारी अनुसार भारतमा एक हजार दुई सय चारजना नेपाली भारतीय क्वारेन्टाइनमा र एक हजार दुई सय २० भारतीय सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएको बताए ।
भारतमा रहेका नेपालीहरुले स्वदेश फर्किनका लागि अपिल गरिरहेका बेला सरकारले पनि उनीहरुलाई ल्याउन नसकिने जवाफ दिएको हो । तीन तहको सरकारको सहकार्यमा देशभर अहिलेसम्म ५० हजार पाँच ६५ जना अट्ने क्वारेन्टाइन रहेको र त्यहाँ २१ हजारभन्दा बढी व्यक्तिलाई राखिएको छ । न्यौपानले भारतमा रहेका नेपालीलाई फिर्ता ल्याउने हो भने प्रत्येक प्रदेशमा ५० हजारदेखि एक लाख क्षमताको क्वारेन्टाइन स्थापना गर्नुपर्ने जानकारी दिए ।
समितिमा उस्थित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म नेपालमा आरडिटी परीक्षण ५० हजारभन्दा बढी व्यक्तिमा गरिएको जानकारी दिए ।
उनका अनुसार पिसिर परीक्षण १३ हजार ६ सय ६० व्यक्तिमा गरिएको र परीक्षण किट आवश्यक मात्रामा मात्र भएको बताए । ‘हामीसँग आवश्यक मात्रामा मात्र परीक्षण किट छ। आयाताको प्रयास पनि सरकारले गरिरहेको छ । अहिलेसम्म अभाव हुन दिएका छैनौँ, उनले भने।
हालसम्म नेपालमा ८२ जना व्यक्ति कोरोना पोजिटिभ देखिएको छ। जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले कोरोना नियन्त्रणका लागि भएका प्रयासहरु राम्रो भएको निष्कर्ष निकाल्दै लक डाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ । बुधबार बस्ने मन्त्रिपरिषद बैठकले फेरि सातदेखि १० दिनसम्म लक डाउने थप्ने निर्णय गर्नेछ।