आजका लागि बोलाइएको स्थायी समिति बैठक अनिश्चित भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० स्थायी समिति सदस्यको बैठक बसेको छ। १५ दिनअघि दुई अध्यक्षलाई सचिवालय बैठक बोलाउन माग गरेका २० नेताको छुट्टै बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेको हो ।
बैठकका लागि मिति, समय र स्थान तोकेर पनि अन्तिम समयमा स्थगित गरिएको भन्दै २० स्थायी समिति सदस्यले छुट्टै बैठक गरेका हुन् । नेकपा स्थायी समितिमा ४४ सदस्य छन् । पार्टी विधानमा २५ प्रतिशत सदस्यले माग गरे स्थायी समिति बैठक हुने व्यवस्था छ । बैठक माग गरेको १५ दिनभित्र बोलाउने पर्ने प्रावधान विधानमा भए पनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै नेताहरु असन्तुष्ट छन् ।
वैशाख २० गतेको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति, समय र स्थान टुंगो लगााए पनि एजेण्डा तय भइनसकेको र थप गृहकार्य आवश्यक भएको भन्दै शुक्रबारको सचिवालय बैठकले अनिश्चित कालका लागि बैठक स्थगित गरेको हो । सचिवालय बैठकमा कुरा नमिलेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । उक्त छलफलमासमेत सहमति नजुटेपछि अन्तिम समयमा स्थायी समिति बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री ओलीले बजेटअघि स्थायी समिति बैठक नगर्ने तयारी गरेका छन् । आज धुम्बाराहीमा छलफलमा जुटेका २० स्थायी समिति सदस्यबीच मंगलबार ललितपुरको झम्सीखेलमा छलफल भएको थियो ।
उक्त छलफलमा प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै स्थायी समिति सदस्य भीम रावलले राजीनामासम्मको प्रस्ताव गरेका थिए । आजको छलफलमासमेत विभिन्न विषयमा छलफल भएको छ ।