४४१ सांसदमा देखिएन कोरोना संक्रमण

संघीय संसदका सांसद र त्यहाँका कर्मचारीहरुमध्ये बिहीबार परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ (संक्रमित नभएको) आएको संसद सचिवालयले जानकारी दिएको छ ।

कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको रिपोर्ट शुक्रबार मध्यान्ह आएको हो ।



१७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्टिय सभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

आज थप ६३ सांसदको थ्रोट स्वाब सङ्कलन

संघीय संसद्को छैटौं अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ ।

आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

सङ्घीय संसद्को छैटौं अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ । कोभिड–१९ को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् ।

सम्बन्धित समाचार