कोरोना भाइरसको महामारी फैलिएपछि त्यसको संक्रमणबाट जोगिन अष्ट्रेलियाले जारी राखेको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन खुकुलो बनाउदै जनजीवन सामान्य बनाउने प्रधानमन्त्री मोरिसनले घोषणा गरेलगत्तै त्यसको तयारी थालिएको हो ।
लकडाउन खुकुलो बनाउन ३ चरणका योजना सार्वजनिक गरिएका छन् । पहिलो चरणमा १० जना सम्म भेला हुन र ५ जना सम्म पाहुनालाई आफ्नो घरमा बोलाउन वा भेटघाट गर्न सकिने भएको छ ।
यस्तै बन्द अवस्थामा रहेका क्याफे, पार्क तथा जिमखानाहरु आंशिक खुला गरिने छन् । मृत्यु संस्कारका लागि ३० जना सम्म बाहिर र भित्र १० जना भेला हुन पाईने छ ।
यस्तै दोस्रो चरणमा ३० जना सम्मलाई भेला हुन दिनेगरीको तयारी सुरू गरिएको प्रधानमन्त्री मोरिसनले जानकारी दिए । एक राज्यबाट अर्को राज्यमा प्रवेश गर्न लगाईएको प्रतिबन्ध पनि दोस्रो चरणमा खुला गर्ने तयारी भएको छ ।
यस्तै तेस्रो चरणमा एक सय जना सम्मलाई भेला हुन दिने योजना सार्वजनिक गरिएको छ । यावत अवस्था कार्यान्वयनमा पुगे जनजीवन सामान्य हुने अष्ट्रेलियाको संघीय सरकारको ठहर छ ।
अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९१४ जना संक्रमित भएका छन् भने ९७ जनाको मृत्यु भएको छ ।