विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने भन्दै चीनको सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको पोस्ट सामाजिक सञ्जालबाट हटाएको छ ।
चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आफ्नो ट्वीटर ह्यान्डलबाट २ मेमा ट्वीटरमा एउटा सन्देश सार्वजनिक गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा (कोमोलोङ्मा) हिमाल चीनमा पर्ने उल्लेख गरेको थियो ।
सगरमाथा क्षेत्रमा असाधारण सूर्यको प्रकाशको घेरा देखिएको भन्दै ४ वटा तस्वीर पोस्ट गरेको सीजीटीएनले ट्वीटर सन्देशमा लेखेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’
तर, आइतबार बिहान सीजीटीएनले उक्त ट्वीटर सन्देश हटाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सगरमाथा आफ्नो देशमा पर्ने भन्दै सन्देश जारी गरेपछि नेपालमा त्यसको विरोध भएको थियो ।
नेपालमा विरोध भएपछि सीजीटीएनले उक्त सन्देश हटाएको हो । तर, उक्त सन्देश हटाइएको विषयप्रति भने सीजीटीएनले कुनै कारण भने उल्लेख गरेको छैन ।