भारतले अतिक्रमित गरेको भूमि फिर्ता ल्याउन माग गर्दैै संकल्प प्रस्ताव

भारतले अतिक्रमण गरेको भूमी फिर्ता ल्याउनु पर्ने मागसहित सत्तारुढ नेकपाका सांसदहरुले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । आइतबार नेकपाकै ६ जना सांसदले संयुक्त रुपमा नेपालको पश्चिमी सिमाना दार्चुला जिल्लामा अतिक्रमित भूमिफिर्ता ल्याउन माग गर्दै प्रस्ताव दर्ता गरेका हुन् ।

संकल्प प्रस्तावमा दार्चुलकै सांसद गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन् ।



प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरिसकेको अवस्थामा विवाद नगरी नेपालले आफ्नो उपस्थिति देखाउनु पर्ने उल्लेख छ ।

प्रस्तावमा सीमा निर्धारण गर्ने प्रमाणिक र वैज्ञानिक आधारहरु र नेपालले गरेको सन्धीअनुसार महाकाली नदिएको मुहान लिम्पियाधुरा भएको दाबी गरिएको छ ।

सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुराबाट निस्किने कुटियाङ्दी नै महाकाली नदी भएको हुँदा त्यस पूर्वको चार सय किलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको छ। सरकारसँगको परामर्शपछि प्रस्तावलाई सदनमा छलफलका लागि पेश गरिनेछ ।

सम्बन्धित समाचार